काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार २८ वाणिज्य बैंकको रू. १ खर्ब ५४ अर्ब मार्जिन कर्जा प्रवाह गर्ने क्षमता पुगेको छ । केन्द्रीय बैंकले वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्न पाउने सीमा प्राथमिक पूँजीको ४० प्रतिशत पुर्याएपछि बैंकहरूको सो कर्जा प्रवाह गर्न सक्ने क्षमता बढेको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिक पूँजीको २५ प्रतिशत मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो । एउटै सूचीकृत कम्पनीको शेयरमा भने आफ्नो प्राथमिक पूँजीको बढीमा १० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ ।
यद्यपि, आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमाससम्म सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २५ ले मात्रै मार्जिन कर्जा प्रदान गरेको देखिन्छ । त्यसमध्ये स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई र कृषि विकास बैंकले शेयर धितोमा कर्जा प्रवाह गरेका छैनन् । सो अवधिमा यी बैंकले समग्रमा प्राथमिक पूँजीको औसत ८ दशमलव १० प्रतिशत मार्जिन कर्जा प्रवाह गरेका छन् । सो अवधिसम्ममा ती बैंकले जम्मा रू. ३१ अर्ब ३३ करोड यस्तो कर्जा प्रवाह गरेका छन् । नयाँ व्यवस्था अनुसार बैंकसँग अझै रू. १ खर्ब २३ अर्ब कर्जा प्रवाह गर्न सक्ने क्षमता छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि पुरानो निर्देशनलाई संशोधन गर्दै नयाँ निर्देशन लागू गरेको थियो ।
चालू आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कृषि विकास बैंकको सबैभन्दा धेरै मार्जिन कर्जा प्रवाह गर्न सक्ने क्षमता रहेको देखिन्छ ।
तर, यस बैंकले हालसम्म यो कर्जा प्रदान गरेको छैन । नेपाल इन्भेष्टमेण्ट बैंकको रू. १० अर्ब ५ करोड मार्जिन कर्जा प्रवाह गर्नसक्ने क्षमता छ ।
तर, पहिलो त्रैमासमा यस बैंकले रू. ८४ करोड मात्र यस्तो कर्जा प्रवाह गरेको देखिन्छ । यस बैंकको अझै रू. ९२ करोड कर्जा प्रवाह गर्न सक्ने क्षमता रहेको छ । चालू आवको पहिलो त्रैमासमा प्रभु बैंकले सबैभन्दा बढी मार्जिन कर्जा प्रवाह गरेको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.