काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३८ करोड ६२ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. १ करोड ५९ लाख नाफा कमाएको थियो ।
कम्पनीद्वारा निर्माण गरिएको तल्लो हेवाखोला जलविद्युत आयोजना २०७६ साउन २१ गते बाट सञ्चालन भएकोमा यस वर्ष २०८१ असोज ११ र १२ गते देशभर परेको भारी बर्षाका कारण फेमे खोलाको बाँध र पावरहाउसमा क्षति पुगेको कारण हाल विद्युत उत्पादन बन्द छ ।
आयोजनाको पुन: निर्माणको काम शुरु गरेको कम्पनीले जनाएको छ । गत वर्षपनि बाढीको क्षतिको कारण कम्पनीको वित्तीय परिसूचकहरूमा नकारात्मक असर परेको र यस अवधिमा पनि बाढीकै कारण कम्पनीको अनुमानित रू. ४४ करोड ८९ लाख भन्दा बढी क्षति भएको कारण कम्पनी नोक्सानीमा रहेको हो ।
कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ३० रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २५ करोड भन्दा बढी रहेको छ । जगेडा कोष रू. ९२ करोड ४१ लाख ऋणात्मक रहेको छ ।