नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमाको अन्त्यतिर आएको छ । अर्थात् केही दिनभित्रै मौद्रिक नीति सार्वजनिक हुने अपेक्षा छ । अर्थतन्त्रका लागि बजेटपछिको अर्को महत्त्वपूर्ण विषय भनेको मौद्रिक नीति नै हो । त्यसैले व्यावसायिक जगत्ले नयाँ मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेको छ । यद्यपि नेपाल राष्ट्र बैंकका आफ्नै सीमा छन् ।
सामान्यतया वित्तीय नीतिले लिएको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउनुपर्छ भन्ने मानिन्छ । तर, बजेट राजनीतिक दस्तावेज भएकाले त्यसमा राजनीतिक कार्यक्रमको बाहुल्य हुन्छ । वितरणमुखी बजेट बन्नुको कारण पनि यही हो । तैपिन अर्थतन्त्रलाई चलायमान बनाउने मात्र होइन तीव्र गति प्रदान गर्ने कामसमेत सरकारकै हो । तर, लामो समयदेखि सरकार अर्थतन्त्रलाई गति दिने खालको कार्यक्रम ल्याउन र ल्याएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न चुकिरहेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट पारित भइसकेको छ । सरकार परिवर्तन भएसँगै विष्णु पौडेल अर्थमन्त्री भएका छन् जो पटकपटक यो जिम्मेवारी बोकिसकेका राजनीतिज्ञ हुन् । उनले नयाँ सरकार आए पनि पूरक बजेट नल्याउने यही बजेट कार्यान्वयन गर्ने बताएका छन् । यसले थोरै भए पनि स्थिरताको सन्देश दिन्छ । अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरसँग आफ्नो ट्युनिङ मिल्ने बताएका छन् तर जति नै ट्युनिङ मिल्छ भने र मिले पनि दुवै निकायका आआफ्नो सीमा र सबलता हुन्छन् । यस्तोमा धेरैले नयाँ मौद्रिक नीति निकै नै लचिलो आउने अपेक्षा गरेका छन् । त्यही कारण शेयरबजारमा आइतवार ठूलो वृद्धि भयो भने सोमवार शेयरबजार केही तल झरे पनि कारोबार रकम भने बढेर पौने ९ अर्ब रुपैयाँ पुगेको छ, जुन धेरैपछि भएको हो । तर, राष्ट्र बैंकले मौद्रिक नीतिबाटै सबै समस्या छुमन्तर गर्न सक्ने होइन ।
अहिले राष्ट्र बैंकलाई निकै दबाब रहेको देखिन्छ । अन्तरराष्ट्रिय मुद्राकोषले दिएका सुझाव मानेर घरजग्गा, शेयरबजारजस्ता क्षेत्रमा जाने कर्जामा कडाइ गर्नुपर्ने बाध्यता छ । यसलाई पूरा खुला छाड्ने हो भने कुनै पनि बेला अर्थतन्त्र ध्वस्त नहोला भन्न सकिँदैन । उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने नीति केन्द्रीय बैंकले लिए पनि मुलुकमा औद्योगिक वातावरण नभएकाले त्यसतर्फ कर्जाको माग खासै बढ्न सकेको छैन । त्यही भएर अहिले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । एकातिर कर्जाका माग छैन भने अर्कातिर बैंकमा ७ खर्बभन्दा बढी अधिक तरलता छ । यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले तरलता प्रशोचन गरेको गर्यै छ । तर, अधिक तरलताको समस्या समाधान हुन सकेको छैन । ब्याजदर कम भएको मौकामा सरकारले ऋण उठाएको उठायै छ तर निजीक्षेत्रतर्फ भन्दा कर्जा प्रवाह मन्द गतिमा भएको देखिन्छ । निजीक्षेत्रको लगानी नबढी उच्च आर्थिक वृद्धि प्राप्त गर्न सम्भव हुँदैन । त्यसैले राष्ट्र बैंकले अहिलेको समस्याको गाँठो फुकाउने खालको नीति लिन आवश्यक छ ।
घरजग्गामा कर्जा प्रवाह खुला हुनुपर्छ, शेयरबजारमा पनि सीमा तोक्नु हुँदैन भन्ने एकथरीको मत पाइन्छ । तर, यसो गर्दा हाम्रो जस्तो उत्पादन क्षमता नभएको मुलुकमा गम्भीर समस्या आउन सक्छ । घरजग्गामा अत्यधिक भाउ बढेर उद्योगमा गएको पैसासमेत घरजग्गामा गएको आशंकामा राष्ट्र बैंकले यस क्षेत्रमा जाने कर्जामा कडाइ गरेको हो । अहिले नै यसमा खुला गर्दा त्यही समस्या दोहोरिन सक्छ तर कडाइ गर्दा झनै समस्या बढिरहेको छ । त्यसो हुँदा विगत केही वर्षदेखिको नीतिलाई निरन्तरता दिनु कुनै पनि हालतमा सही कदम हुन सक्दैन । पुरानै नीतिको निरन्तरताले दिने परिणाम पनि पुरानै हुन्छ । त्यसैले मौद्रिक नीतिले विशेष रचनात्मक उपाय अवलम्बन गर्नुपर्ने हुन्छ जसले गर्दा घरजग्गामा फोका पनि नउठोस् र अहिलेको जस्तो पूरै गतिहीनता पनि नल्याओस् ।
अर्थतन्त्रलाई पूरै चलायमान बनाउने काम राष्ट्र बैंकको मात्र होइन, सरकारको पनि हो । पूँजीगत खर्च बढाउनै नसक्ने, अनिवार्य दायित्व भुक्तानीमा बेवास्ता गर्ने कामले अर्थतन्त्रलाई झनै समस्यामा पारेको छ । निर्माण व्यवसायीको भुक्तानी रोकिँदा निर्माण क्षेत्रले गति लिन सकेको छैन । त्यसले गर्दा बैंकिङ क्षेत्र समस्यामा पर्दै छ । राष्ट्र बैंकले घरजग्गामा कडाइ गर्दा नयाँ घर बन्ने क्रम पनि ज्यादै कम छ । एक त घरजग्गाको धितोमा प्रवाह गरेको कर्जा नउठ्दा खराब कर्जा बढिरहेको छ । कतिपय अवस्थामा घरजग्गाको मूल्य घट्दा धितो विक्री गर्दा त्यसले खामेको कर्जा नै उठ्न नसक्ने अवस्थासमेत रहेको छ । त्यसैले घरजग्गा कारोबारमा केही खुकुलो बनाउन आवश्यक छ तर ज्यादै खुकुलो बनाउन भने विचार गर्नुपर्ने देखिन्छ ।
वर्तमान गभर्नरका लागि यो मौद्रिक नीति अन्तिम हो । त्यसो हुँदा उनका सफलता र असफलताको मापन पनि नयाँ मौद्रिक नीति र त्यसको कार्यान्वयनबाट ल्याउने प्रभाव हो । यस्तोमा अर्थमन्त्रीले दाबी गरेझैं उनले चाहेजस्तो नीति आउँछ वा राष्ट्र बैंकले आफ्नै निष्कर्षअनुसार नीति ल्याउँछ भन्ने प्रश्न उठेको छ । यद्यपि राष्ट्र बैंक सरकारभन्दा बढी जिम्मेवार निकाय भएकाले उसले तत्कालिक कुरा नहेरेर दीर्घकालीन लक्ष्यका लागि मौद्रिक नीति तय गर्छ । संकुचनकारी वा विस्तारकारी जस्तो नीति लिए पनि अहिलेको गतिहीनताको ढोका खोल्ने खालको नीति लिनु आवश्यक छ । राष्ट्र बैंकले मौद्रिक नीतिको सीमा र शक्तिअनुसार अहिलेको समस्या निकाल्ने उपाय खोल्न चासो दिनु आवश्यक छ ।