मध्यभोटेकोशी जलविद्युत् आयोजनाले स्थानीय बासिन्दाका लागि करीब १६ प्रतिशत शेयर दिने निर्णय गरेको समाचार प्रकाशमा आएको छ । चिलिमे हाइड्रो पावरको सहायक कम्पनीका रूपमा रहेको यस कम्पनीले स्थानीयलाई शेयर दिएर उनीहरूलाई कम्पनीको साझेदार बनाउने भएको छ ।
जलविद्युत् विकासका निम्ति निर्बाध कार्य गर्न शायद योभन्दा सुन्दर बाटो अर्को हुन पनि सक्दैन । सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी नदीको पानी उपयोग गरेर बनाउन लागिएको यो आयोजनाले जलविद्युत्मा लगानी गर्न खोलिएका तीन स्थानीय कम्पनीलाई १/१ प्रतिशत, जिल्ला विकास समिति र जिल्लाका सबै गाउँ विकास समितिहरूलाई गरी ३ प्रतिशत शेयर दिने भएको छ । यसबाहेक यसले जिल्लाबासीलाई दिन छुट्टै १० प्रतिशत शेयर पनि छुट्ट्याएको छ । यसरी यसले आफूलाई जिल्लावासीको साझा आयोजनाका रूपमा विकास गर्न खोजेको छ ।
चिलिमेअन्तर्गत स्थापित रसुवागढी, अपर साञ्जेन र साञ्जेन जलविद्युत् आयोजनाले पनि यसैगरी स्थानीयलाई शेयर दिने घोषणा गरेका छन् । यस्तो परम्पराको थालनीले स्थानीयवासीलाई आयोजनाको स्वामित्वबोध हुनेछ । यसले आयोजनामा स्थानीय जनताले अवरोध गर्ने समस्या पनि समाधान हुन्छ । चिलिमेले शुरू गरेको यस परम्परालाई निजीक्षेत्रका अन्य कम्पनीहरूले पनि अपनाउन सकेमा मुलुकमा तीव्रगतिले जलविद्युत् आयोजनाहरू निर्माण हुने आशा गर्न सकिन्छ ।
(सम्पादकीयबाट) वर्ष ७, अंक ३३८, सोमवार ४ भदौ, २०६९