नेपाल पुन: एफएटीएफ (सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तरराष्ट्रिय कार्य समिति) को एशिया पेसिफिक ग्रूप (एपीजी) को खैरो सूचीमा परेको खबर यतिखेर सनसनी मात्र होइन, अब त्यसपछिको नेपाललाई दातृ राष्ट्रहरूले हेर्ने रवैया के हुने हो ? भनेर अर्को चिन्ता पनि फैलिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो शासन सत्ताको बागडोर सम्हाल्दा नसम्हाल्दै नेपाललाई त्यहाँबाट आउने सहयोगहरूमा व्यापक कटौती हुने हल्ला आएकै हो । भर्खरै मात्र एमसीसी नामक सहयोग परियोजनामा दिइरहेको सहयोगसमेत बन्द गरिदिएकाले पहिलेका ती हल्ला सत्य सावित भएका छन् । पहिलेका कतिपय एमसीसी विरोधीहरूका लागि त यो खबर सुखदै होला । तथापि, बनिरहेका खर्च संरचनाहरू के
होलान् ? त्यसको बेग्लै चिन्ता देशभरि भएको पाइन्छ । यही बेला नेपाललाई एफएटीएफले पहिले सुधार्न दिएको समयसीमाभित्र सुधारहरू नभएका कारण यसपटक खैरो सूचीमा पर्यो । अबको ३ वर्षमा ती शर्त पालना गरिएनन् भने वर्तमानको खैरो सूची कालो सूचीमा पर्ने पनि भनिसकेको छ । त्यो भनेको नेपाल वित्तीय लगानीका हिसाबले अति असुरक्षित देश भन्ने सन्देश जानु हो । यस्तो बेला प्रत्यक्ष वैदेशिक लगानी (एफडीए) को सम्भावना अत्यन्तै क्षीण हुन्छ । आइहाले पनि तिनका जोखिम लागत धेरै हुने गर्छ । वास्तवमा यो चिन्ता यसबेला यो लेखकलाई भन्दा राज्यसत्ताका गुड्डी हाँक्नेहरूलाई बढी हुनुपर्ने हो ।
देशीय तथा आन्तरिक स्रोतका अभावमा बाँच्नुपर्ने राष्ट्रहरूका लागि माथिको खबर खासै सुखद होइन । प्रत्यक्ष वैदेशिक लगानी त परकै कुरा भए, अरूले दिने कुरामा माग्नेका नियन्त्रण नहोला पनि । तर, यहाँका बैंक वित्तीय क्षेत्रप्रति र तिनका कारोबारप्रति अन्तरराष्ट्रिय जगत्ले आँखीभौं उचालिरहेको विद्यमान अवस्थामा भने तिनको दिगो र भरपर्दोपना उठ्न पक्कै समय लाग्ने हुन्छ । कताकति मगन्तेहरूका अर्थशास्त्रीय सन्दर्भ देशीय अर्थव्यवस्थामा पनि तुलनीय होलान् त्यो समयले नै बताउने कुरा हो । तर, यहाँ भने अहिले राजधानी अर्थात् काठमाडौं उपत्यकाका सधैं व्यस्त रहने सवारी आवागमनका बीच सडकमै मगन्तेहरूका कार्यकलाप देखेर केही लेख्ने हुटहुटी पलाएको हो । सवारी चालक वा सवारी हाँकेका चालक धनीहरूले पक्कै पनि देखेको, भोगेको हुनुपर्छ, काठमाडौंका व्यस्त सवारी चापबीच पनि मगन्तेहरू कतै दौडँदै र कतै आवागमन नै अप्ठ्यारोमा पार्ने गरी हात पसार्दै चालक र सवारसित पैसा माग्ने गरेका दृश्यहरू । खासगरेर ललितपुरको सातदोबाटो क्षेत्र, ग्वार्को, काठमाडौंको कोटेश्वर चौबाटो, गौशालालगायत व्यस्त सवारी आवागमनका क्षेत्रहरूमा सवारी केहीबेर रोकिन हुँदैन मगन्तेहरूको ताँती नै लाग्छ । त्यहाँ देखिने मगन्तेहरूमा खासगरेर कोही भर्खरैका स्कूल जाने उमेरका बालकहरू, कोही नानी च्यापेका महिला अनुहारहरू, कोही अपांग र कोही जोगीभोगीहरू र कोही साधु आवरणधारी सन्न्यासीहरू हुन्छन् । कोही भने वृद्धवृद्धाहरू र कोही भने सरकारी छापे कागज देखाउँदै स्वयम्लाई एक अशक्त र लाटोको प्रमाण तेस्र्याएर पनि मागिरहेका पाइन्छन् । दया लाग्नेहरू कतिले सकेको दिन्छन्, कतिले गाली गर्दै दिँदैनन् पनि । दिनेलाई सलाम गर्दै आशीर्वाद दिन्छन् भने नदिनेलाई साथमा लिएका लट्ठीले उल्टै गाडीमा ठटाउँछन् । त्यहाँ करुणा र दयाका दृश्य देख्नेहरू होलान् । तर, उत्तिकै सवारी दुर्घटनाका जोखिम पनि देखिएको छ जसप्रति अहिलेसम्म सरोकारीहरूले पटक्कै ध्यान दिएको देखिएन । यस्ता दृश्य ती क्षेत्र भएर यात्रा गर्दा यो लेखकले देख्न थालेको करीब ४– ५ वर्ष भइसक्यो । तर, तिनको संख्या घट्नुभन्दा दिनदिनै बढेको अनुभूत हुन्छ ।
- नेपालीहरू धर्मकर्मप्रति विश्वास राख्ने जाति भएकाले दानदक्षिणामा ती विश्वास देख्छन्, धर्म देख्छन् ।
- मगन्तेहरूको क्रियाकलापका कारण विदेशी पर्यटकले नेपाललाई कुन दृष्टिले हेर्लान् ?
- दानधर्मबाट प्राप्त हुने भेटीको व्यवस्थापन कहिल्यै पारदर्शी भएको देखिएन ।
- बीच सडकमै माग्ने मगन्ते कार्यकलापले सवारी दुर्घटना निम्त्याउन सक्छ ।
- मागी खाने कर्म पनि पेशा बन्न सक्दो रहेछ ।
यसो त नेपालीहरू धर्मकर्मप्रति विश्वास राख्ने जाति भएकाले दानदक्षिणामा पनि ती विश्वास देख्छन्, धर्म देख्छन् । बुद्धको त देशै भइगयो, जहाँ करुणाको खानी नै हुन्छ । भिक्षाटनको व्यवस्थित रूप–प्रणाली बुद्ध धर्ममा पाइन्छ । धार्मिक समारोह होस् वा पुराण कथा वाचन होस् वा कुनै धार्मिक मेलापर्व नै किन नहोस् । दानधर्मका नाममा अथाह राशी संकलन गरिएका ताजै उदाहरण छन् । राजधानीकै शालीनदीको एकमहीने मेलाभर त्यस्तो दानधर्म गरेर पुण्य कमाउनेहरूको रकम कलमको हरहिसाब हुन्छ हुँदैन ? त्यो त कहिले पनि देखिएन तर १ महीनाभर त्यहाँ जानेहरूले देखेको हुनुपर्छ कि कानै फुट्नेगरी माइकमा तिनै दाताहरूको नाम र रकमका कुराहरूको घोषणा मात्र भइरहेको सुन्न पाइन्छ । अब ठाउँठाउँमा राखिएका दान पेटिकामा दान गर्नेहरूको त कुरै भएन । दान दिनेहरूमा सम्भवत: हिन्दूहरू धेरै अगाडि छन् तर त्यस्तो दानधर्मबाट प्राप्त हुने भेटीको व्यवस्थापन भने कहिल्यै पारदर्शी भएको देखिएन । तिनलाई के व्यवस्थित गर्नु परोइन ? यो अर्को पाटो पनि हुँदै हो । तर, सवारी गुडिरहेका व्यस्त सडकहुँदी नै मगन्तेहरूको मगन्ते क्रियाकलापका दृश्यले भने विदेशी पर्यटकले नेपाललाई कुन दृष्टिले हेर्लान् भन्ने अर्को चिन्ता थपिनुपर्ने हो । त्यो चिन्ता कसैले गरेको देखिएन । मठमन्दिर, देवस्थल र धार्मिक कार्यक्रमहरूमा देखिने मगन्ते र भिखारीहरूको उपस्थिति वा दृश्यलाई त सामान्यै मान्नुपर्ला । त्यस्ता स्थानहरूमा त मान्छेहरू दानधर्म गर्न भनेरै पनि पुग्छन् । त्यो एक निश्चित स्थान पनि हो । तर, सवारी गुडिरहने, व्यस्त सवारी चाप हुने स्थानहरूमा गुडी नै रहेका सवारी भरसक रोकिएका बेला वा नरोकिएै भए पनि बिस्तारै गुडिरहेका सवारीलाई पैसा माग्ने कर्मले ज्यानकै जोखिम पनि हुँदो हो । त्यस पक्षपट्टि हेर्दा मागी खानेहरूले त ज्यानको जोखिमै मोलेर त्यो कर्म गर्दै आएका वा अभ्यस्त भएका होलान् पनि तर त्यस्तो दृश्य हेरिरहेका प्रहरी वा ट्राफिक प्रहरीहरूले चाहिँ कहिले चासो राखेको देखिएन ।
वास्तवमा सवारी दुर्घटनाका जोखिमका कारण व्यस्त सवारी आवागमन हुने सडकतिर मागी खाने कार्यकलापलाई निस्तेजै वा वर्जिर्तै गर्नुपर्ने हो । ज्यानकै सुरक्षाको प्रश्न पनि उठ्छ, त्यहाँ । त्यो मर्यादित पनि होइन । यसका लागि सम्बद्ध स्थानीय निकायहरू नै अगाडि सर्नुपर्छ । हुन त यस्ता दृश्यको प्रत्यक्ष अवलोकन गरिरहने त्यहाँका प्रहरी वा ट्राफिक प्रहरी नै किन नहुन् तिनले कहिले यस्ता कर्ममा सवारी दुर्घटनाको जोखिम छ है भनेर शिक्षा वा चेतना फैलाएको अनूभूत गर्न सकिएन । हुन त यो कर्म तिनका नियमनका दायरामा नपर्ला कि भन्न पनि सकिएला । तर, कमसेकम सवारी आवागमन हुने क्षेत्र वा बीच सडकमै मगन्तेहरूको यस्ता मगन्ते कार्यकलापले सवारी दुर्घटना निम्त्याउने अर्को कारक पनि हुनसक्छ है भन्ने चेतना चाहिँ हुनपर्ने हो ।
मगन्ते अनुहारहरू हरेक दिन तिनै सडकबीच दोहोरिरहनुले तिनलाई व्यवस्थित गर्न नसकिएको हो कि ? वा छाडै छाडिएको हो ? भन्ने अर्को पाटो पनि यसबाट केलाउनु पर्ने हुन्छ ।
यो मागी खाने कर्म पनि पेशा बन्न सक्दोरहेछ भन्ने कुराचाहिँ माथि उल्लिखित सवारी चाप हुने स्थानहरूमा मागी खानेहरूको दृष्टान्तले पुष्टि गर्छ । कतिपय त्यस्ता मगन्तेहरू एक ठाउँमा भेला भएर सामूहिक रूपमा पैसा गन्ने गरेका अनेकौं दृश्य यो लेखकले धेरैपटक देखेको छ । कतिपटक त सातदोबाटो वरपरका पसलमा खुद्रा पैसा साटिरहेका दृश्य पनि देखिएकै हो । यसरी माग्दै आएकाहरूको बोलीचाली, भाषा वा तिनका उठबसलाई राम्ररी नियाल्ने हो भने ती भारतीय क्षेत्रबाट आएका हुन् कि भन्ने शंका गर्न सकिन्छ । केही नेपाली बोल्नेहरू पनि छन् । केही अशक्तहरूले भने एउटा परिचयको कागज देखाएर माग्दै गरेका दृश्य देखिन्छन् । कतिपय त त्यस्तै सवारी आवागमन भइरहेका क्षेत्रमा बोतलका पानी बेच्ने, गुट्का सुपारी, चुरोट खैनीलगायत सरसामान बेच्ने र गाडी सरसफाइ गर्ने सामानहरू बेच्नेहरू र कलम पेन्सिल बेच्नेहरूको पनि उस्तै लस्कर देखिन्छ । व्यापारीहरूको यो एक खाले घुम्ती व्यापार पनि होला । तर, त्यो कार्यकलाप पनि सुरक्षाका दृष्टिले उचित होइन ।
राजधानीका सडक पेटीतिर व्यापार गर्ने डाले, नांग्ले, रुमाले, कुम्ले व्यापारीलाई तह लगाउने स्थानीय सरकारहरूले अब सवारी आवागमन हुने ज्यानै जोखिम हुने क्षेत्रहरूमा मगन्ते पेशाकर्मीलगायत यस्ता बन्दव्यापारहरूलाई पनि व्यवस्थित वा कतै तह लगाउने योजना लिएर आउन सके तिनको उपस्थितिको पनि सकारात्मक मूल्यांकन हुने र यस्ता कर्म पनि तह लाग्ने देखिन्छ । कतिपय स्थानमा सवारी चालकले त हतारका कारण वा सवारीसाधनको गति पनि त्यो बेला कम गर्न नसक्दा केही घटना भएका देखिन्छन् । तर पनि माग्ने यस्ता दृश्यमा कमी आएको भने देखिँदैन । यसको अर्थ यसको व्यवस्थापन नगरिएको हो भन्ने देखिन्छ । यो लेखकले यस्ता दृश्य देख्न थालेको ४–५ वर्षभन्दा बढी भयो । यस्ता दृश्यले विदेशी पर्यटकमा कस्तो सन्देश जाला ? भन्ने पक्ष पनि उत्तिकै चासोका साथ हेरिनुपर्ने हो । मागी खानेप्रतिको दया वा करुणाको पक्षभन्दा पनि सवारी आवागमनमा हुने अवरोध वा कुनै विपत्तिका कारण तिनको मगन्ते पेशा नै पनि कत्तिको सुरक्षित होला ? भन्ने मूल चिन्ता हुनपर्ने हो । अर्कोतिर, मगन्ते अनुहारहरू हरेक दिन तिनै सडकबीच दोहोरिरहनुले तिनलाई व्यवस्थित गर्न नसकिएको हो कि ? वा छाडै छाडिएको हो ? भन्ने अर्को पाटो पनि यसबाट केलाउनुपर्ने हुन्छ । सडकमा हुने यस्ता जोखिमपूर्ण मगन्ते वृत्तिलाई व्यवस्थित गरेर लैजाने भन्ने पाटोको अर्थशास्त्र केलाउने समय भने आएको छ ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।