काठमाडौं। महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच ‘अलिपे प्लस’द्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तरराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी बुधवार सहमति भएको छ । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको बताइएको छ ।
यस समझदारीअन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा भुक्तानी गर्न सक्नेछन् । यसबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत टेवा पुग्ने बैंकको अपेक्षा छ ।
डिजिटल भुक्तानीका माध्यमको नविनतम् प्रयोगप्रति बैंक सधैं प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकको छ ।