काठमाडौं। महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रूपमा उपलब्ध सेवामा थप विस्तार गर्दै यस्तो सेवाको शुरुआत गरेको बताइएको छ ।
बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवासम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ सम्बन्धी आइपर्ने प्राविधिक समस्याको सम्बोधन गर्ने, ग्राहकबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणका लागि प्रक्रिया अगाडि बढाउने लगायतका कार्य गर्ने बताइएको छ ।
बैंकले एक निश्चित समयभित्र कल सेन्टरमार्फत आएका गुनासो/जिज्ञासा/उजुरीको सम्बोधन गर्ने बताइएको छ । यसबाट ग्राहकको समस्याको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बैंकले आफ्नो मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।