काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आइतवार हुँदैछ । सभा आगन्तुक रिसोर्ट म्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ बजे सभा गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल ५० प्रतिशत लाभांशलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य रहेका छन् ।