काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २७ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ ।
पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कम्पनीले ९ दशमलव ५०७९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अन्य कुनै एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रस्तावलाई पन सभाका लागि अघि सारिएको छ । आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्न लागेको छ । पुस १५ गते सार्वजनिक विदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।