काठमाडौं । मंसिर महीनामा धितोपत्र दोस्रो बजारमा ६ करोड १२ लाख ७३ हजार ९६४ दशमलव ९६६ कित्ता शेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा एक कम्पनीको संस्थापक शेयर र एक कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ)सँगै थप सात कम्पनीको बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता संस्थापक शेयर र समता घरेलु लघुवित्तको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ मंसिर ११ गते दोस्रो बजारमा सूचीकृत भएको हो । मंसिर १९ गते एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३ दशमलव ८८ कित्ता, अपि पावरको २८ लाख ९३ हजार २९८ दशमलव ९५६ कित्ता, सिइडिबि होल्डिङको १० लाख २४ हजार ९१९ दशमलव ६१ कित्ता र कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५ दशमलव २७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
त्यस्तै मंसिर २६ गते गुराँस लघुवित्त वित्तीय संस्थाले १ लाख ४४ हजार ४९५ कित्ता, अरुण भ्याली हाइड्रोपावरले ११ लाख २० हजार ७७८ कित्ता र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले २० लाख ६६ हजार २५० कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएका छन् । कम्पनीहरूले यी शेयर दोस्रो बजारमा कारोबारयोग्य बनाएसँगै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा समेत जम्मा गरिसकेका छन् ।