म्युनिख (जर्मनी) । चान्सलर ओलाफ स्कोल्जले एक प्रमुख मन्त्रीलाई बर्खास्त गरेपछि जर्मनीको सत्तारुढ गठबन्धन ढलेको छ ।
सत्ता गठबन्धनको प्रमुख दल फ्रि डेमोक्रेटिक पार्टी (एफडीपी)का नेतासमेत रहेका अर्थमन्त्री क्रिश्चियन लिन्डनर बर्खास्त भएपछि त्यहाँको तीन दलीय सत्तारुढ गठबन्धन ढलेको हो ।
जर्मनीमा चान्सलरको दल सोसल डेमोक्रेटिक पार्टी (एसडीपी), एफडीपी र ग्रिन्सको गठबन्धनमा सन् २०२१ मा सरकार बनेको थियो ।
चान्सलर स्कोल्जले अर्थमन्त्री लिन्डनरमाथि विश्वास नभएकाले उनलाई पदबाट बर्खास्त गरेको बताएका छन् । स्कोल्जले आफ्ना पूर्वअर्थमन्त्रीले 'आफ्नो विश्वास तोडेको' र देशभन्दा आफ्नो पार्टीको हितलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
यता लिन्डनरले भने स्कोल्जले जर्मनीलाई अनिश्चितताको चरणमा पुर्याएको आरोप लगाएका छन् ।
लिन्डनरको बर्खास्तीपछि एफडीपीका अन्य चार मन्त्रीहरूले पनि पद छाड्नेछन् । एफडीपीको बहिर्गमनसँगै स्कोल्ज नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
चान्सलर स्कोल्जले सरकारले आगामी जनवरी १५ मा संसद्बाट विश्वासको मत लिने बताएका छन् ।
सत्ता गठबन्धन घटक ग्रिन्सका मन्त्रीहरूले सरकार नछाड्ने बताएका छन् । विदेशमन्त्री एनालेना बेयरबोकले आफ्नो पार्टीले सरकार नछाड्ने बताएका हुन् ।
अमेरिकामा निर्वाचनको केही घण्टापछि गठबन्धनभित्रको संकटले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई राजनीतिक अनिश्चिततामा डुबाएको छ । यसले देशको अर्थव्यवस्था र सुरक्षामा पनि अनिश्चितता पैदा गरेको छ ।
चान्सलरको सेन्टर लेफ्ट सोसल डेमोक्र्याट्स, वातावरणविद् ग्रीन्स र आर्थिक रूपमा उदार एफडीपीबीचको गठबन्धन हुँदा प्रत्येक पार्टीले आ-आफ्नो स्वार्थ समूहमा ठूलो रकम खर्च गर्ने योजना बनाएका थिए ।
तर, त्यसको दोस्रो वर्ष देशले मूल्यवृद्धिको सामना गर्नुपर्यो । सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गर्दा ऊर्जाको मूल्य वृद्धि हुँदा देशले रक्षा खर्चमा वृद्धिको सामना गर्नुपऱ्यो ।
स्कोल्ज र उनका ग्रीन पार्टनरहरू संवैधानिक नियमहरू खुकुलो बनाएर सार्वजनिक ऋण लिन चाहान्छन् ताकि अधिक खर्च गर्न अनुमति दिन सकियोस्।
लिन्डनर भने कल्याणकारी र सामाजिक बजेट कटौती गरेर र वातावरणीय लक्ष्यहरू पछाडि धकेल्दै कर कटौती गर्न चाहान्थे । बीबीसी