काठमाडौं । मोदी ईनर्जी लिमिटेड (Modi Energy Limited)ले वैशाख १९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ (IPO) खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । आयोजना प्रभावित स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर मात्र बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत सर्वसाधारणमा २५ प्रतिशत शेयर (Share) विक्री गर्न अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारीसमेत सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गर्न कम्पनीले अनुमति पाएको हो । दोस्रो चरणमा विक्री गरिने १५ प्रतिशत अर्थात् ४३ लाख ५० हजार कित्ता शेयरमध्ये ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।
अब बाँकी रहेको शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार २८० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणमा ५५ लाख ५९ हजार ४२० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड (Sunrise Capital Limited) छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो । यस आयोजनाको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ छ भने आयोजनाको प्रतिमेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ छ ।