काठमाडौं । मोदी ईनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जारी पूँजी रू. २ अर्ब ९० करोड बराबरको १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको थियो ।
दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने उक्त शेयरमध्ये १० प्रतिशत दरको ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत १७ गते बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले फागुन २५ गतेदेखि चैत ९ गतेसम्म आईपीओ विक्री गरेको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरेको कम्पनीले स्थानीयमा भने बाँडफाँट गर्न बाँकी छ ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा फागुन २५ गतेदेखि चैत १६ गतेसम्म आईपीओ विक्री गरेको हो । स्थानीयमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।
यस कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो ।