काठमाडौं । मोदी ईनर्जी लिमिटेड (Modi Energy Limited)ले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ (IPO) आगामी आइतवार बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आइतवार बिहान ९ः३० बजे क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौं आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको जानकारी दिएको हो ।
कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । विक्री बन्द भएको एक सातामै कम्पनीको आईपीओ बाँडफाँट हुन लागेको हो । सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभािवत स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गर्न कम्पनीले अनुमति पाएको हो । दोस्रो चरणका विक्री गरिने १५ प्रतिशत अर्थात् ४३ लाख ५० हजार कित्ता शेयरमध्ये ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।
बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरूमा बाँडफाँट गरिएको छ । सार्वजनिक निष्कासनमार्फत ५९ लाख ९५ हजार ४२० कित्ता शेयर विक्री गरिएको हो । मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । भाग्यमानी ५ लाख ९९ हजार ५४२ जना आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् ।
कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो । यस आयोजनको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको प्रतिमेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ छ ।