काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । असार ३ गते बसेको सञ्चालक समितिको बैठकले होटल ले बगैंचाको सभा हल, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्तावसमेत पारित गर्नेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
यी दुई कम्पनीहरूलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले पनि यी कम्पनीलाई मर्जरमा जान पूर्वस्वीकृति दिइसकेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ देखि असार २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा असार ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।