काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । मर्जर तथा प्राप्तिपछि थप भएको आशा लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त वित्तीय सस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो ।
साविकको राष्ट्र उत्थान लघुवित्तलाई आशा लघुवित्तले १:१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको २६ लाख कित्ता शेयर आशा लघुवित्तको नामबाट सूचीकृत भएको हो ।
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्था १ः०.८७ को अनुपातमा मर्जर हुँदा कायम हुन आएको १ करोड ३६ लाख ४ हजार ५६९ दशमलव ३ कित्ता शेयर सूचीकृत भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको शेयर कारोबार फुकुवा भएको जानकारी कम्पनीले दिएको छ । साथै मर्जपछिको पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८४८ दशमलव ३६ तोकिदिएको छ । यही मूल्य रेञ्जलाई आधार मानेर कम्पनीको शेयर भोलि (सोमवार)देखि कारोबारमा आउनेछ ।
त्यस्तै साविकको विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था १ः१ को अनुपातमा मर्जर हुँदा कायम हुन आएको ३६ लाख १० हजार ४०३ दशमलव ५९ कित्ता शेयर विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सूचीकृत भएको छ ।
त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ । मर्जरपछिको कारोबारको लागि नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ७०३ दशमलव ५५ मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ ।