काठमाडौं। मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच महासंघमा आबद्ध घरेलु तथा साना उद्योगलाई सहज र सुलभ तरीकाबाट कर्जा प्रवाहका लागि सम्झौता भएको छ । सम्झौताले यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्झौतामा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरीकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासका लागि वित्तीय र व्यावसायिक साक्षरताका लागि सहकार्य गर्ने बताइएको छ ।
महासंघका अध्यक्ष ज्ञवालीले सम्झौताले महासंघसँग आबद्ध महिला उद्यमीलाई आर्थिक विकास गर्न र व्यावसायिक तथा वित्तीय साक्षरताको क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।