काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सोमवार पोखरामा सम्पन्न भएको छ । बंैक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष (आव) २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले प्रतिशेयर रू. १०० का दरले रू. १ अर्ब बराबरको ‘मुक्तिनाथ ८ दशमलव ५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपछि जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ । अविमोच्य असञ्चिति अग्राधिकार शेयर भनेको सम्बन्धित कम्पनीले फिर्ता नलिने र लाभांश सञ्चित गरेर लिन नपाइने अग्राधिकार शेयर हो ।
यसै सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्ताव समेत पारित गरेको बताइएको छ । साथै, साधारणसभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका ३० जना संस्थापक शेयरधनी, बैंकको उन्नयनमा योगदान दिने अन्य संस्थापक शेयरधनी तथा सञ्चालक सदस्यलाई सम्मान गरिएको थियो ।
सभाले विशेष प्रस्तावको रूपमा रहेको काठमाडौं २८ कमलादीस्थित केन्द्रीय कार्यालय बंैकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन लाजिम्पाटमा स्थानान्तरण गर्ने लगायत प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभाको औपचारिक कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष ढकालले गरेका थिए ।
सभामा सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तव्य राखेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।