काठमाडौं। नबिल बैंक लिमिटेडले राउटे समुदायमा नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल)को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरेको बताइएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरमा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जानकारी दिएको छ, जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए । शिविरमा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो । जुका, भिटामिन, आइरन चक्की जस्ता औषधि पनि उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ ।
राउटे समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, सरसफाइको अभाव जस्ता विभिन्न समस्या देखापर्ने भएकाले यो समुदायलाई केन्द्रित गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्त्वबारे जागरूकता र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनले बताए ।
‘राउटे समुदायको विशिष्ट सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो, शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ,’ उनले भने ।
स्वास्थ्य शिविरमा राउटे समुदायको मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातिको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको बताए । राउटेहरूको समग्र विकासका लागि गाउँपालिका लगायत समग्र प्रदेश र संघीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उनले बताए । विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उनले बताए । उनले नबिल बैंकको यस सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए ।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्य गर्दै आएको र भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ ।