सुर्खेत । राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको छ । नबिल बैंक र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल)को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ । शिविर कार्यक्रममा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए ।
यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल, सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो । जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि उपलब्ध गराइएको थियो ।
राउटे समुदायका व्यक्ति मुख्यतया सुर्खेत तथा कर्णाली प्रदेशका आसपासका जिल्लाहरूमा बसोबास गर्दै आएका छन् । यस समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण यो समुदायलाई केन्द्रित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्त्वबारे जागरूकता र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनले बताए।
‘राउटे समुदायको विशिष्ट सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो, शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ,’ उनले भने।
स्वास्थ्य शिविरमा राउटे समुदायको मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातीको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको बताए ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा पनि समाजको समग्र सुधारका लागि विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।