अहिले चालू आर्थिक वर्षको पहिलो ३ महीनामा मूल्यवृद्धि साढे १० प्रतिशत पुगेको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ । तर, यस अवधिमा विस्तृत मुद्राप्रदाय (एम२) ३ दशमलव २ प्रतिशत मात्रै बढेको छ । त्यस्तै, पूँजीगत खर्च हुन नसकेर सरकारी खातामा बचत छ ।
यसरी अर्थतन्त्रमा मुद्राको आपूर्ति घट्ने र मूल्यवृद्धि आकाशिने उल्टो प्रवृत्ति देखापर्नु निश्चय पनि राम्रो सङ्केत होइन । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि भएको, नेपाली रुपैयाँ डलरको तुलनामा कमजोर बनेको, आयात बढेको, विप्रेषण बढेकोलगायत कारणले मूल्यवृद्धि भएको प्रष्टीकरण राष्ट्र बैङ्कले दिने गरेको छ । यी कारणहरू अवश्य पनि मूल्यवृद्धिमा जिम्मेवार हुन्छन् । तर, ती सबैको प्रभाव कुनै न कुनै रूपले मुद्राप्रदाय वृद्धिमा प्रतिविम्बित हुँदैन भने त्यो मात्र मूल्यवृद्धिको पर्याप्त व्याख्या होइन ।
मूल्यवृद्धि भएपछि अर्थशास्त्रको नियमअनुसार मुद्राप्रदाय बढेको देखिनैपर्छ । तर, यहाँ नेपाली मुद्राप्रदाय बढेको देखिँदैन । त्यसैले जुन मुलुकको करेन्सीमा रेमिट्यान्स भित्रियो, नेपालमा त्यही करेन्सी प्रचलनमा आएको सम्भावना देखिन्छ । त्यो करेन्सी बजारमा त आयो तर, बैङ्किङ प्रणालीमा पुगेन । राष्ट्र बैङ्कको नियन्त्रणबाहिरबाट पनि ठूलो मात्रामा प्राथमिक मुद्रा वा साख मुद्रा प्रवाह भइरहेको र त्यसले मानिशहरूको क्रयशक्ति बढाइरहेकाले नै मूल्यवृद्धि उच्च भएको हुनुपर्छ । विशेषगरी सहकारी संस्थाहरू र हुण्डीबाट भइरहेका यस किसिमका क्रियाकलापहरू राष्ट्र बैङ्कको नियमन र नियन्त्रणभित्र आउन सकेका छैनन् ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ७२, बिहीवार १४ मङ्सिर, २०६९