काठमाडौं । काठमाडौंमा मंगलवारबाट शुरु भएको नाडा अटो शो २०२४ मा प्रदर्शनमा राखिएका गाडीमध्ये करीब ८० प्रतिशत विद्युतीय सवारीसाधन (ईभी) छन् । प्यासेन्जर सेग्मेन्टदेखि दुईपाङ्ग्रे, हल्का व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनीमा राखिएका छन् । दुईपाङ्ग्रेतर्फ स्कुटरमा पनि विद्युतीय सवारीसाधनकै वर्चश्व देखिएको छ ।
प्रदर्शनीमा २४ चारपाङ्ग्रे, १९ दुईपाङ्ग्रे र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्ड राखिएको आयोजकले बताएको छ। साथै ३३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो उपकरण प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीलाई मध्यनजर गरेर नेापल भित्र्याइएका विभिन्न ब्रान्डका उत्पादन र तिनका नयाँ भेरियन्ट र सेग्मेन्टका सवारीसाधनको अनावरणसमेत गरिएको छ । यसअघिनै सार्वजनिक भएका तथा प्रदर्शनीलाई नै लक्षित गरि नेपाल ल्याइएका दुईपाङ्ग्रे सवारीसाधनप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ । प्रदर्शनीमा राखिएकामध्ये यी बाइक र स्कुटरमा आकर्षण पर्न सक्ने देखिएको छ ।
यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक
प्रदर्शनीको पहिलो दिन संघीय सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अनावरण गरेको दुईपाङ्ग्रे सवारी हो यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ । यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।
शहरी राइडरहरू र अफ–रोड एडभेन्चरका लागि बाइक उपयुक्त रहेको कम्पनीको दावी छ । १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू राइडले डब्लूआर १५५ को मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ ।
यामाहा एमटी–१५ भर्सन २
एमटी–१५ भर्सन २ बाइकमा उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जनाएको छ । यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई–कनेक्ट फिचर समावेश छन् । शोमा बुकिङ गर्ने आगन्तुकहरूलाई रू. ६ हजार विशेष छूटको साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गर्ने अफरसमेत दिएको छ ।
एमएडब्लू ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको वितरक हो । ग्रुपले भर्खरै नेपालमा निर्मित यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्याण्डर्डको लागि १० वर्षको वारेन्टीसमेत ल्याएको छ ।
सीएफमोटाको ‘४५०एमटी’
मोटरसाइकल निर्माता सीएफमोटोले ‘४५० एमटी’ मोटरसाइकल प्रदर्शनीमा सार्वजनिक गरेको छ । अत्याधुनिक डिजाइन, शक्तिशाली पर्फर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेको लागि एक योग्य साथी बनाउने कम्पनीको अपेक्षा छ ।
मोटरसाइकलको मूल्य रू. १२ लाख ४९ हजार ९०० छ । ४४९ दशमलव ५ सीसीको यो बाइक बलियो, लिक्विड कुल्ड, प्यारालल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिनसहित रहेको बताइएको छ, जसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनएमको टर्क ७६०० आरपीएममा दिने बताइएको छ ।
रोयल इनफिल्ड हिमालयन ४५०
रोयल इनफिल्डको बहुप्रतिक्षित मोटरसाइकल हिमालयन ४५० नेपाल बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोटिभले नाडा अटो शोमै उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । यसको मूल्य ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म छ ।
रोयल इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ । कम्पनीले पहिलो पटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याएको हो । कम्पनीले शेर्पा नाम दिएर ल्याएको इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ । फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगायतका फिचर पाउन सकिन्छ । रोयल इनिफल्ड हिमालयन ४५० एड्भेन्चर मोटरसाइकल नेपालमा नै एसेम्बल गरेको हो ।
एनएस ४००
बजाज मोटरसाइकलको पल्सर सिरिजकै सबैभन्दा ठूलो पल्सर एनएस ४०० एनएस पनि अटो शोमा सार्वजनिक भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले सार्वजनिक गरेको उक्त मोटरसाइकलको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ छ । यो मोटरसाइकल नेपालमा नै एसेम्बल गरिएको हो ।
कम्पनीले उक्त मोटरसाइकलको बुकिङ खुला गरेको छ । ग्राहकले ५ हजार रुपैयाँ बुझाएर एनएस ४०० बुकिङ गर्न सक्नेछन् ।
बाइकमा एक्स सेप एइलडी हेड्ल्याम्प, बोल्ड स्टाइल डीआरएल, ट्याकं एक्स्टेन्सन, ग्रायाब ह्यान्डल, स्प्लीट सीट र नयाँ रेडियटरको प्रयोग गरिएको छ, यसले बाइकलाई आकर्षक देखाएको कम्पनीले जनाएको छ ।
यसमा प्रयोग भएको ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिपर असिस्ट क्लच उपलब्ध छ ।
बजाज डोमिनारभन्दा १९ किलोग्राम तौल कम रहेको नयाँ एनएस ४०० जेडमा १२ लिटरको फ्युल ट्याङ्क दिइएको छ । एनएस ४०० जेडको टप स्पीड भने १५४ किलोमिटर प्रतिघण्टा छ । कम्पनीले नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, कलरफुल एलसीडी डिस्प्ले, ४ राइडिंग मोड, ४३ एमएमको यूएसडी फर्क, प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ ।
त्यसैगरी, फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । स्वीचेबल सिस्टमको डबल च्यानल एबीएस, स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, एग्जस्ट मफ्लर, फुल एलईडी लाइट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग भएको छ । ब्लुटूथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर रहेको मोटरसाइकलमा दिइएको ब्रेक र क्लचलाई मेनुअल्ली एड्जस्ट गर्न सकिन्छ ।
गोगोरोका दुई नयाँ स्कुटर, ६ सेकेण्डमै ब्याट्री फुलचार्ज
गोगोरोले अटो शोमा राखेको तीन मोडलका स्कुटरमध्ये ब्याट्री स्वाप प्रविधि भएको मोडेलमा आकर्षण देखिएको आयोजकले जनाएको छ । नेपालका लागि गोगोरोको आधिकारिक विक्रेता नेवुला इनर्जीले शोमा दुई नयाँ र एउटा पुरानै मोडल प्रदर्शन गरेको हो ।
कम्पनीले यसअघि नै नेपाली बजारमा बीटूबी मोडलका रुपमा गोगोरो क्रस ओभर २५० सार्वजनिक गरेको थियो । शोमा जेगो र पल्स स्कुटर सार्वजनिक गरिएको हो । शोमा पहिलो पटक ६ सेकेण्डमा ब्याट्री स्वाप गर्न सकिने स्वाप स्टेशनसमेत प्रदर्शन गरेको छ ।
प्रदर्शनीमा राखिएकामध्ये सुजुकी भिस्ट्रोम २५० एड्भेन्चर, टीभीएसका ४ नयाँ मोडल र रेडर १२५, रेडिअन, एनटर्क १२५ को नयाँ भर्सन र रोनीनको बाइकमा आकर्षण देखिएको छ ।
ट्रायम्फको दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छ । नाडा अटो शो २०२४ मा ट्रायम्फ स्पीड ४०० एक्स र ४०० स्क्रयाम्वलर सार्वजनिक भएको हो । कम्पनीले ट्रायम्फको स्पीड ४०० मोटरसाइकल ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्वलरको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुला गरेको छ ।
हिरो एक्सपल्स २०० फोर भी प्रो
शोमा हिरो एक्सपल्स २०० फोर भी प्रो पनि प्रदर्शन गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले उक्त मोडेल प्रदर्शनीमा राखेको हो । यसको बुकिङ खुला चाडै गर्ने कम्पनीले बताएको छ ।
जीहोको एईफोर इलेक्ट्रिक स्कुटर
जीहोले एईफोर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भूत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ । ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध एईफोरले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने बताइएको छ । यो स्कुटरको मूल्य रू. २ लाख ९९ हजार ९०० तोकिएको छ ।
शोमा अन्य ब्राण्डका पेट्रोलियम तथा विद्युतीय दुईपाङ्ग्रे सवारी सार्वजनिक भएका छन् ।
अन्य तस्वीरमा हेर्नुहोस्
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान