काठमाडौं । राजधानीमा १ सातासम्म चलेको नाडा अटो शो–२०२४ मेलामा भएका गाडी बुकिङमध्ये करीब ७० प्रतिशत विद्युतीय गाडी (ईभी) रहेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका एक पदाधिकारीले बताएका छन् ।
नाडाका अनुसार शनिवारसम्म २४ सय बुकिङ भएको थियो । अन्तिम दिन आइतवार ६ सयभन्दा बढी गाडी बुकिङ भएको नाडाका एक पदाधिकारीले बताए । ‘त्यसमध्ये धेरैजसो ईभी नै ग्राहकको रोजाइमा परेको छ,’ उनले भने । भदौ ११ गतेबाट चलेको अटो शो आइतवार सम्पन्न भएको हो ।
भारतीय कम्पनी टाटाका गाडीको पनि राम्रो बुकिङ रहेको उक्त कम्पनीका लागि नेपालमा आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले बताएको छ । सिप्रदीका अनुसार नाडा अटो शो–२०२४ मा टाटा कम्पनीको ६४४ युनिट गाडी बुकिङ भएको छ । कम्पनीका अनुसार अटो शोमै सार्वजनिक गरिएको टाटा पन्च ईभी ४७५ र टियागो ईभी १६९ ओटा बुकिङ भएको छ । कम्पनीले यो बुकिङलाई उत्साहजनक भनेको छ । यो सस्तो मूल्यमा पाइने एसयूभी ईभी हो ।
नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।
पन्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा उपलब्ध छैन । उत्कृष्ट एक्ट ईभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको बताइएको छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले आयात गरेको एट्टो थ्री नेपाली बजारमा अत्यधिक रुचाइएको र बुकिङसमेत धेरै भएको साइमेक्सले बताएको छ । हालसम्म यो कार करीब ४ हजार ५०० युनिट विक्री भएको दाबी साइमेक्सले गरेको छ । बीवाईडीका डल्फिन, सिललगायत समेतको विक्री राम्रो भएको कम्पनीको दाबी छ ।
नाडा अटो शोलाई लक्ष्य गरेर एमएडब्ल्यूले ल्याएका नामी ब्रान्डको कार पनि अटो शोको दौरान बढी रुचाइएको गाडीमा परेको नाडाका एक पदाधिकारीले बताए । ‘नामी पनि धेरै बुकिङ भएको गाडीमध्ये एक हो,’ उनले भने ।
यो कारको तीनओटा मोडल सार्वजनिक भएको थियो । नामी ई १ को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।
नामी चिनियाँ कम्पनी डङफेङ मोटर्सले उत्पादन गरेको गाडी हो । नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमीटर रेन्ज दिन्छ । डङफेङ मोटर्सका अनुसार नामीको टप स्पिड १४० किलोमीटर प्रतिघण्टा रहेको छ ।