काठमाडौं। नागरिक लगानी कोष (सीआईटी)को ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्ट्याइएको प्रस्तावित ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) स्वीकृत गरेको हो ।
त्यसैगरी आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । यससँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणउपर छलफल गरी पारित भएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. थापाले कोषका कार्यक्रमको थप प्रवर्द्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । कोषले पूँजीबजारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी उनले दिए । संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उनले बताए ।
साधारणसभामा शेयरधनीहरूबाट उठाइएका जिज्ञासाको अध्यक्ष प्राडा. थापा र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिएका थिए । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको भन्दै कृत्रिम बौद्धिकता (एआई)को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए । साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्ममा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।