काठमाडौं । नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको ‘नागरिक पेन्सन योजना’मा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ । सर्वसाधारणलाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचत रकम देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको बुढेसकालको जीवनयापन सहज बनाउने उद्देश्यले कोषले २०७७ साउनमा उक्त योजना शुरू गरेको हो । तर, यसमा सहभागिता सन्तोषजनक रूपमा बढ्न सकेको छैन ।
बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आबद्ध गराउने उद्देश्यले ल्याइएको पेन्सन योजनामा गत भदौ २० गतेसम्म ६ हजार ८६० जना सहभागी भएको कोषले जानकारी दिएको छ । योजना कार्यान्वयन गर्ने कार्यविधि २०७६ मै आएको थियो । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की उक्त योजना सोचेअनुसार अघि बढ्न नसकेको स्वीकार्छन् । उनका अनुसार यो योजनामा आय आर्जन गर्ने, प्रचलित कानूनबमोजिम स्थापना भएका संघसंस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्छन् । तर, यो जुन रूपमा विस्तार हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।
‘हाम्रो फोकस नागरिक पेन्सन योजनामै छ,’ कार्कीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर यो योजनाको विषयमा नागरिकलाई बुझाउन अभियान चलाउँदै छौं ।’ आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा समेटिएको योजना चालू आवको बजेटमा समावेश नगर्दा प्रभावकारी हुन नसकेको कोषका अधिकारी बताउँछन् ।
कर्मचारी बचत वृद्धितर्फ ५ लाखसम्म कर तिर्नु पर्दैन, सरकारले कर छूट दिएको छ । तर, नागरिक पेन्सन योजनामा त्यस्तो छूटको व्यवस्था छैन । त्यसकारण नागरिक पेन्सन योजनामा सहभागीले कर तिर्नुपर्ने बाध्यता रहेको कोषका अधिकारीहरूको बुझाइ छ । उनीहरूका अनुसार कर छूटको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ भएको छैन ।
सरकारले यो योजनालाई बजेटमार्फत नै विशेष सम्बोधन गर्नुपर्ने र करमा रहेको द्विविधा हटाउनुपर्ने कार्यकारी निर्देशक कार्की बताउँछन् । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले चालू बजेटबाट भूलवश उक्त योजना हटेको बताए । ‘सरकारको प्राथमिकताबाहिर यो योजना छैन,’ ती अधिकारीले भने, ‘करको विषयमा समेत छलफल भइरहेकाले छ, द्विविधा छिट्टै हटाइनेछ ।’
नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीका अनुसार आकर्षण बढ्न नसक्नुको अर्को कारण नयाँ स्किम भएकाले सर्वसाधारणले जानकारी नपाउनु हो । त्यसैकारण प्रचारप्रसारमा व्यापक जोड दिने कोषको तयारी छ । नागरिक पेन्सन योजना नागरिककै लागि भएको र यसमा सहभागिताका लागि कहीँ कतै आबद्ध हुन नपर्ने उनको भनाइ छ । ‘जोसुकै व्यक्ति जुनसुकै समयमा सहभागी हुन सक्छ,’ उनले भने, ‘व्यापक रूपमा नागरिकमाझ लैजान्छौं ।’
योजनाअन्तर्गत सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक ५०० रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने अंकमा रकम जम्मा गर्न सक्ने व्यवस्था यससम्बन्धी कार्यविधिमा छ । बचतकर्ताको आम्दानीको आधारमा मासिकदेखि अर्धवार्षिक, वार्षिक रूपमा रकम जम्मा गर्न सकिने विशेषता छ । यस्तो किस्ता बुझाउँदा मासिक ५०० रुपैयाँभन्दा कम नहुने गरी बुझाउनुपर्ने कोषका अधिकारी बताउँछन् ।
कोषका अनुसार पेन्सन प्राप्त गर्न कम्तीमा १५ वर्ष योगदान गरेको र बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको हुनुपर्छ । बचतकर्ताले १५ वर्ष बचत नगर्दै त्यसको ब्याज र प्रतिफल एकमुष्ठ भुक्तानी लिन वा पेन्सनका रूपमा भुक्तानी लिन सक्छन् ।
कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ट रूपमा तोकिएको न्यूनतम किस्ताले जम्मा गर्ने व्यक्ति समेत यस योजनामा सहभागी हुन सक्छ । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोड्दा हुन आउने कुल रकमलाई १ सय ७० ले भाग गर्दा आउने रकम प्रत्येक महीना निजको जीवकालभर पेन्सनको रूपमा पाउने कार्यविधिमा उल्लेख छ ।
बचतकर्ताको आयस्रोत गुमेमा वा अशक्तताको कारण आयआर्जन गर्न असक्षम भएमा वा बसाइँ सरी अन्य मुलुक गएको खण्डमा यो योजनाबाट अलग हुन सकिन्छ । यसरी योजनाबाट अलग हुँदा बचतकर्ताले शर्तबमोजिम नियमित रूपमा बचत गरेको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार यस्तो अवस्थामा बचतकर्ताका नाममा जम्मा रहेको साँवा रकम एकमुष्ट भुक्तानी हुन्छ ।