काठमाडौं । नेपाल र भारतबीच ४०० केभी क्षमताका दुई ओटा अन्तरदेशीय प्रशारण लाइनको मोडालिटीमा सहमति भएको छ ।
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको मंगलवार (आज) भारतको नयाँ दिल्लीमा सम्पन्न १२ औं बैठकले इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली प्रशारण लाइनको मोडालिटीमा सहमति भएको हो ।
सहमति अनुसार नेपालतर्फको प्रशारण लाइन नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फको प्रशारण लाइनको लागि पावर ग्रिडको ५१ प्रतिशत र विद्युत प्राधिकरणको ४९ प्रतिशत स्वपूँजी रहने गरी संयुक्त उपक्रमको मोडालिटी रहनेछ । यी दुई प्रशारण लाइनहरू संयुक्त उपक्रममार्फत क्रमशः सन् २०२८/२९ र सन् २०२९/३० सम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।
संयुक्त उपक्रम कम्पनी स्थापना सम्बन्धी कार्य १ महीनाभित्र सम्पन्न गरिनेछ ।
बैठकमा हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केवर–मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यातको परिमाण ८०० मेगावाटबाट १००० मेगावाट पुर्याउने सहमति भएको छ ।
यस्तै,चमेलिया (नेपाल) – जौलिजीवी (भारत) बीचको २२० किलोभोल्ट डवल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आगामी मार्चसम्म तयार गर्ने र नेपाल खण्डको प्रसारण लाइन नेपाल विद्युत प्राधिकरण तथा भारत खण्डको प्रशारण लाइन पावर ग्रिडले सन् २०२७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने सहमति भएको छ ।
यसैगरी, सन् २०३४(३५ सम्मका लागि नेपालबाट थप विद्युत भारत निर्यात गर्नका लागि तल उल्लेखित अन्तर्देशीय प्रसारण लाइनहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण तथा विस्तार गर्ने सहमति भएको छ ।
बैठकमा निजगढ/हरनैया (नेपाल) – मोतिहारी (भारत) बीच ४०० केभी प्रसारण लाइन सन् २०३४/३५ सम्म निर्माण गर्ने, कोहलपुर (नेपाल) – लखनउ (भारत) बीच ४०० केभी प्रसारण लाइनस् २०३४/३५ सम्म निर्माण गर्ने, ढल्केवर (नेपाल) – मुजफ्फरपुर (भारत) बीच ४०० केभी प्रसारण लाइनमा उच्च क्षमताको एचडीएलएस कन्डक्टरले प्रतिस्थापन गर्दै सन् २०३४/३५ सम्म सम्पन्न गर्ने सहमति भएको छ ।
सन् २०१४ मा सम्पन्न भएको नेपाल–भारत विद्युत व्यापार सम्झौताको दफा ५ मा भएको व्यवस्था अनुसार सम्झौता कार्यान्वयन पक्षलाई सहजीकरण गर्दै आवश्यक निर्देशन प्राप्त गर्न र यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न दुवै मुलुकका सचिवस्तरीय समिति तथा सह सचिवस्तरीय कार्यदल गठन गरिएको थियो ।