काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि सहकार्यको प्रतिबद्धता गर्दै ‘बीएफएसआई समिट–२०२४’ सम्पन्न भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (पीएचडीसीसीआई) भारत–नेपाल केन्द्रसँगको सहकार्यमा सम्मेलन भएको हो ।
‘जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि दिगो वित्तपोषणको गहनता’ नारासहित भएको कार्यक्रममा जर्मनी, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, भारत जस्ता देशबाट नीतिनिर्माता र विज्ञहरूको सहभागिता थियो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, नेपालका लागि अस्ट्रेलियाका राजदूत लियान जोनस्टन, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र भारत–नेपाल केन्द्रका अध्यक्ष तथा नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीव सिंह पुरीको उपस्थिति थियो ।
कार्यक्रममा मन्त्री ठकुरीले बैंक, वित्तीय संस्थाले कर्जा लगानी गर्दा विश्वव्यापी रूपमा बढ्दो तापक्रमले आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई मूल्यांकन गर्नुपर्ने बताए । अर्थसचिव घिमिरेले सरकारले राष्ट्र बैंकसँग सहकार्य गरी ग्रिन ट्राक्सनोमी जारी गरेको र यसले कार्बन उत्सर्जन कम गर्ने लगानीलाई प्रोत्साहन, स्रोतको उपयोगिता, जैविक विविधताको संरक्षण र जलवायु अनुकूलनमा सुधार गर्ने उल्लेख गरे ।
सम्मेलनमा सहभागीहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि बैंक, वित्तीय संस्थाको लगानी गर्ने प्रतिबद्धता जनाए । उनीहरूले जलवायु परिवर्तनका प्रभावका बारेमा चासो देखाउँदै यसको जोखिम सम्बोधनका लागि अपनाइएका रणनीति तथा नीतिहरूको चर्चा गरे ।
नेपालका लागि अस्ट्रेलियाली राजदूत जोनस्टनले नेपाललाई दिगो विकास र जलवायु परिवर्तनका प्रभाव घटाउन अस्ट्रेलिया सरकारको समर्थन रहेको बताए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले जलवायु परिवर्तन दक्षिण एशियाली देशहरू विशेषगरी नेपाल र भारतका लागि ठूलो खतरा रहेको भन्दै विश्वव्यापी सहकार्य, क्षेत्रीय समाधान र सहकार्यको आवश्यकता औंल्याए । बिफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले दिगो विकास र जलवायु अनुकूलनमा वित्तीय संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेकोमा जोड दिए ।