बङ्गलादेश भूगोलका आधारमा नेपालको सीमा बाहिरको सबैभन्दा छोटो दूरीमा रहेको मुलुक हो । नेपालले बङ्गलादेशको स्वतन्त्रता लगत्तै कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो भने द्विपक्षीय सम्बन्धमा कुनै उतारचढाव आएको देखिँदैन । यो मुलुक विश्वको घना आवादी भएका देशमध्ये एक हो भने भौगोलिक रूपमा हिमालय पर्वतमालाहरूबाट उद्गम भई बगेका सम्पूर्ण नदीको जलाधार तटीय क्षेत्र हो । त्यो बाहेक हिन्द महासागरको न्यूनचापीय र सबैभन्दा अधिक उत्तरी अक्षांशको तटीय क्षेत्र पनि हो । तसर्थ बङ्गलादेशको अवस्थिति अर्थात् त्यो सँग जोडिएको बंगालको खाडीले आर्थिक र सामरिक दृष्टिकोणले अति महत्त्व राख्ने गर्छ ।
नेपाल र बङ्गलादेश सम्बन्ध आपसी समझदारी र साझा मूल्यमान्यतामा आधारित छ । यसकारण द्विपक्षीय सम्बन्धमा दुवै मुलुकका वस्तुगत आकांक्षाहरूले धेरै प्रश्रय पाएका छन् । तसर्थ साझा चासोका रूपमा नेपाल र बङ्गलादेशले सार्क, बिमस्टेक र बीबीआईएनसहित विभिन्न क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा सबै मुद्दामा एक साथ छन् । विभिन्न तहका उच्चस्तरीय भ्रमणहरूले यी मुलुकको सम्बन्धको घनिष्टलाई विशेष अर्थ राख्ने गरेको देखिन्छ । नेपाल र बङ्गलादेशबीचको आर्थिक तथा वाणिज्यका क्षेत्रमा पनि विभिन्न स्तरका सहकार्यहरू विस्तारित भइरहेको छ । तर, रणनीतिक रूपमा पछिल्ला केही वर्षमा भने आपसी व्यापारमा नेपालले अपेक्षित लाभभन्दा बढी नोक्सानी बेहोरेको देखिन्छ ।
दुई देशबीचको व्यापार विस्तार र विविधीकरण गर्ने असंख्य सम्भावनाहरू छन् । तर, तिनका लागि भरमग्दुर प्रयासहरू हुन सकेका छैनन् । आर्थिक कूटनीतिको प्रभावलाई महत्त्व दिँदै बङ्गलादेशले नेपालको विद्युत्मा लगानी गर्ने जस्ता विषय सतहमा आएका छन् । तर, त्यससम्बन्धी गृहकार्यसहित केही पनि काम अगाडि बढेको छैन । समग्र लगानीको वातावरणको सुनिश्चितता गर्ने बारेमा सार्कको दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) पनि पूर्ण कार्यान्वयनमा आएको देखिँदैन । तसर्थ पनि द्विपक्षीय आर्थिक लाभको विषयमा नेपाल र बङ्गलादेशका साझा सहकार्यहरू गतिशील हुन सकेका छैनन् ।
अहिले नेपालमा वैदेशिक लगानीका लागि अति अनुकूलको समय छ । तर, बङ्गलादेश आफै त्यति ठूलो लगानी बोकेको मुलुक पनि होइन । बङ्गलादेश आजका दिनसम्म पनि अधिकतर दैनिक उपभोग्य वस्तुहरू निर्यातमार्फत नै सन्तुलन गराइरहेको छ । त्यसको अतिरिक्त वैदेशिक व्यापारघाटालाई कपडाको अत्यधिक निर्यातमार्फत धान्ने कोसिस गरिरहेको छ । त्यो बाहेकको भुक्तानीको सन्तुलनका लागि नेपालको जस्तै विप्रेषणको समेत भर परिरहेको देखिन्छ । कृषि उत्पादनका दृष्टिकोणले बङ्गलादेशको भूमि स्वर्णभूमिसरह मानिन्छ । सुनसमेत फलाउन सक्ने विश्वासका कारण बङ्गलादेशलाई बङ्गाली भाषामा सोनार बंगला समेत भन्ने गरिन्छ । तर, अत्यधिक जनसंख्याका कारण त्यहाँको उत्पादन आन्तरिक खपतका लागि सधैं न्यून हुने देखिन्छ ।
नेपाल र बङ्गलादेशका बीच व्यापार विस्तार र विविधीकरणको व्यापक सम्भावना छ । नेपालबाट बङ्गलादेश निकासी भइरहेका वस्तुमा दाल, तेल, अलैंची, गहुँ, तरकारी बीउ, अन्य कृषि उपज, हस्तशिल्प र केही मात्रामा पश्मिना रहेका छन् । त्यसैगरी बङ्गलादेशबाट हुने आयातमा औद्योगिक कच्चा पदार्थ, तरल पेय वस्तुहरू, रसायन पदार्थहरू, कपडाका लागि सामग्रीहरू, जूट उत्पादन, इलेक्ट्रिक र इलेक्ट्रोनिक वस्तु पर्छन् । तर, दुवै देशले आफ्ना उत्पादन नभएको खण्डमा तिनै सामाग्री अन्य मुलुकबाट मँहगोमा समेत आयात गरिरहेका छन् । तसर्थ दुवै मुलुकले सम्भावित सामग्रीहरू र तिनको लागतका आधारमा एकअर्काको बजार उपयोग गर्ने हो भने धेरै फाइदा हुन सक्छ । नेपाल र बङ्गलादेशले आफ्ना धेरै आवश्यकता भारतबाट पूर्ति गर्छन् । तर, त्यो भारतको विकल्पमा एकअर्कालाई उपयोग गरेमा धेरै सामान सस्तो समेत पर्नसक्ने अनुमान गर्न सकिन्छ ।
नेपाल–बङ्गलादेशले धेरै विषयमा सहकार्य गर्न थोरै प्रयासले असम्भव हुनसक्छ । द्विपक्षीय सम्बन्धहरूलाई प्रगाढ बनाउन बहुपक्षीय प्रकारका सम्झौता पनि आवश्यक हुन्छ । सार्क, बिमस्टेक वा अन्य मञ्चको उपयोग गरेर कूटनीतिक सम्बन्धलाई थप बलियो बनाएमा त्यो दुवै पक्षका लागि हितकर हुन्छ । भारतको समेत सहभागितालाई सुनिश्चित गर्न र दुई देशबीचको व्यापारलाई भारतीय भूमिको उपयोगका लागि पनि त्यो प्रकारको कूटनीति आवश्यक हुन्छ । त्यो बाहेक बहुपक्षीय पारवहन सम्झौताको निर्बाध कार्यान्वयनका लागि पनि भारतको सहमति लिन बहुपक्षीय मञ्चहरू उपयोग गर्न आवश्यक छ । पछिल्लो समय सार्कको अस्तित्व संकटमा रहेकाले बिमस्टेक र बीबीआईएनको मञ्च दरिलो भई दुवैले उपयोग गर्न सक्ने देखिन्छ ।
नेपाल र बङ्गलादेश दुवै बिमस्टेकका सदस्य राष्ट्र हुन् । सदस्य राष्ट्रबीच आर्थिक र प्राविधिक सहयोग अभिवृद्धि गर्नु यो सङ्गठनको मूल लक्ष्य हो भने व्यापार, लगानी, प्रविधि, पर्यटन, मानव संशाधन, कृषि, मत्स्यपालन, यातायात कनेक्टिभिटी र सञ्चारका विषयमा यो संगठनका सहकार्यका अवधारणाहरू केन्द्रित भएका देखिन्छन् । पछिल्लो समय यो सङ्गठनले समेत विश्वव्यापी मुद्दाहरूमा धेरै सहकार्यका प्रतिबद्धता व्यक्त गरेको छ । व्यापार, प्रविधि, यातायात, पर्यटन वा ऊर्जा जस्ता साझा हितमा मात्र सीमित नभई कृषि, स्वास्थ्य, गरीबी निवारण, प्रतिआतङ्कवाद, संस्कृति संरक्षण, मौसम परिवर्तन र जनसम्पर्कजस्ता सामरिक विषयहरू पनि समेटेको छ । साथै बिमस्टेकभित्र उपक्षेत्रीय सहकार्यको अवधारणा विकास भई बीबीआइएन अर्थात् बङ्गलादेश, भुटान, इन्डिया र नेपाल बहुपक्षिय सहकार्यका लागि तयार भएका देखिन्छन् । बीबीआईएनको निरन्तरताबाट पनि सहकार्यका लागि धेरै सहज स्थिति आउनसक्ने अनुमान गर्न सकिन्छ । विशेषतः नेपाल र बङ्गलादेशले यो समूहमा यातायात सम्पर्क सञ्जालको विषयलाई धेरै महत्त्व दिएर यसको पूर्ण कार्यान्वयनका लागि जोड दिन आवश्यक देखिन्छ ।
नेपाल र बङ्गलादेशको आर्थिक विकासका धेरै सूचक एकअर्काको अवस्थासँग मिल्ने देखिन्छ । नेपालमा कुल उत्पादनमा सेवा क्षेत्रको योगदान ५६ प्रतिशत पुगेको छ भने बङ्गलादेशको अवस्था ५१ प्रतिशत हाराहारी छ । तर, बंगलादेश विश्वमा अत्यधिक आर्थिक वृद्धिदर गरिरहेको र अत्यधिक रूपमा मध्यमवर्गीय घनत्व विकास भइरहेको मुलुक हो । नेपालको जस्तो एक पक्षीय रूपमा बङ्गलादेशको व्यापारमा भारतको उपस्थिति छैन । तर, यसको प्रभुत्व भने बङ्गलादेशमा पनि व्यापक छ । नेपालको आयात तथा निर्यातमा भारतको अंश दुई तिहाइ रहेको छ । तर, बङ्गलादेशको भने निर्यातमा भारतीय बजारको अंश २ प्रतिशत मात्र रहेको छ । बङ्गलादेशको निर्यात व्यापारमा अमेरिका र यूरोपको मात्र अंश ८० प्रतिशत हाराहारीमा रहेको देखिन्छ । त्यसैगरी बङ्गलादेशको कुल आयात व्यापारमा भने २१ प्रतिशत चीन र १२ प्रतिशत भारतसँग रहेको छ ।
नेपालको जस्तै धेरै मात्रामा उपभोग्य वस्तु, प्लास्टिक उत्पादन, ब्याट्री, निर्माण सामग्री, फर्नीचर, इलेक्ट्रोनिक सामान, घरायसी सामान तथा उपकरण, मोटरसाइकल, मेशिन औजार र जुत्ताहरू बङ्गलादेशले भारतबाट आयात गरेको छ । यस अर्थमा भारतमाथिको निर्भरता हटाउन पनि दुई मुलुकले आपसी सहकार्यमा एकअर्काका वस्तुहरूको उपयोग गर्न सक्ने अवस्था छ । यसका लागि ती वस्तुको लागतको विश्लेषण गरि भारतको भन्दा न्यूनदर रहेको खण्डमा तिनको उपयोग गर्ने नीति लिन सकिन्छ । यो किसिमको सहकार्य दुवै पक्षका लागि फाइदाजनक रहन सक्छ ।
व्यापार बाहेक द्विपक्षीय रूपमा साझा फाइदाका लागि सहकार्य गर्ने धेरै क्षेत्र छन् । गरीबी निवारण, शान्तिसुरक्षा, जलवायु परिवर्तन र विश्वव्यापी चासोका सम्बन्धमा नेपाल र बङ्गलादेशका आवश्यकताहरू समान देखिन्छन् । योबाहेक सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि साझा सहकार्यहरू गर्न सकिने अवस्था छ । शिक्षातर्पm धेरै नेपाली विद्यार्थीले बङ्गलादेशमा प्राविधिक तथा चिकित्साशास्त्र अध्ययन गरिरहेका छन् । उनीहरूको अवस्थाका विषयमा प्राविधिक तथा लागत सहजीकरणको माध्यमबाट पनि नेपालले आर्थिक लाभ लिन सक्छ । यो बाहेक आपसी सहयोग र सहकार्यका अन्य क्षेत्रहरूको पनि अन्वेषण र पहिचान गर्ने हो भने दुवैका लागि धेरै अवसर प्राप्त हुने देखिन्छ । भर्खरै सम्पन्न बंगलादशका राष्ट्रपतिको नेपाल भ्रमणको सौहार्दतालाई महत्त्व दिएर त्यस प्रकारको अन्य बहुपक्षीय स्तरको सहकार्यको निरन्तरताबाट समस्याहरू हल हुने उपायहरू खोज्न आवश्यक छ । नेपाल र बङ्गलादेश भौगोलिक रूपमा धेरै टाढा पनि छैन र भावनात्मक रूपमा एकअर्काको सहानुभूति पनि आर्थिक विकासका दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण हुन सक्छ ।
लेखक नेशनल काउन्सिल फर इकोनोमिक एण्ड डेभलपमेण्ट रिसर्च, नारेक नेपालका निर्देशक हुन् ।