काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ९७ प्रतिशत कम खुद नाफा गरेको छ ।
गत वर्ष ३ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी ८ दशमलव ४० प्रतिशत घटेको छ । आम्दानीका शिर्षकहरुमा गत वर्षको तुलनामा यस वर्ष कमि आउँदा कम्पनीको खुद नाफा प्रभावित बनेको हो ।
गत वर्ष २१ अर्ब ३० करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १९ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ छ भने जगेडा कोष रकम करिब ४ प्रतिशत घटेर ७३ अर्ब १४ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५०६ रुपैयाँ ३४ पैसा छ ।