काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २८ करोड ६५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ५९ दशमलव ६६ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १७ करोड ९४ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ५५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३३ करोड १६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५१ करोड ४२ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४९ करोड रहेको छ । कम्पनीले जगेडामा रू. ४३ करोड ६२ लाख र बीमा कोषमा रू. ८९ करोड ४३ लाख सञ्चिती गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६० करोड १६ लाख खुद बीमाशुल्क आर्जन गरेको हो । सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत रू. १४ करोड ८ लाख भन्दा बढी आम्दानी गरेको छ । त्यस्तै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ५१ करोड १४ लाख दाबी भुक्तानी गरेको छ भने कारोना दाबी सहित रू. ८२ करोड ३७ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । प्रतिशेयर आम्दानी रू.२५ दशमलव ५६(वार्षिक), मूल्य आम्दानी अनुपात २० दशमलव २४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८९ दशमलव ०२ रहेको छ ।