काठमाडौं। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशमा मोटिभेशनल तालीम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो क्रममा अन्तरराष्ट्रिय प्रशिक्षक अमित शर्माले कोशी प्रदेशको इटहरी, मधेशको लालगढ, बागमतीको काठमाडौं र नारायणघाट, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रशिक्षण दिएका थिए, जसमा पाँच हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरको उपस्थिति रहेको बताइएको छ । २०८० असोज र २०८१ बैशाखको मासिक अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत आयोजना गरिएको तालीममा जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक शीपको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । यस किसिमको कार्यक्रमले क्षमता अभिवृद्धि गरी जीवन बीमाको बजारीकरणका निम्ति चाहिने शीप तथा ज्ञान हासिल गर्न सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य रहेका ३१४ एजेन्सी तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो । यसका साथै कम्पनीले हरेक प्रदेशमा प्रथम, द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।