चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ४३०, मध्यमको रु ३८० र ‘एक्सएल’को रु ४५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु ३५० मा झरेको थियो । सङ्घको शनिवार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको जानकारी उनले दिए ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु ५२५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु ३५० मा झरेको थियो । अहिले मूल्य वृद्धि भएर रु ४५० पुगेको छ ।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रु ३ हजार १४०, ठूलो अण्डा रु ३ हजार र मझौलाको रु २ हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी रु ३ हजार ६७५ सम्म पुगेको थियो ।
सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोखरेलको भनाइ छ । उनले भने, “गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।” उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ”, उनले भने, “अण्डाको मूल्य बढेपछि किसान उत्साहित भएका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।” नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् । रासस