काठमाडौं । सिजी होल्डिङ्सले आफूविरुद्ध उपभोक्ता अदालतमा परेको उजुरी आपसी समझदारीमा टुंग्याएको छ । केही समयअघि स्थापना भएको उक्त अदालतमा हालसम्म दायर भएका ५ ओटा उजुरीमध्ये अरुण चौधरीको सिजी होल्डिङ्स र यसअन्तर्गतका कम्पनीमाथि गाडी मर्मतका क्रममा ठगी गरेको भनी उजुरी परेको थियो । अरुण सांसद तथा उद्योगपति विनोद चौधरीका भाइ हुन् ।
गत चैत ३ गते ललितपुर–१८, सिद्धिविनायक बस्ने रामसागर यादवले ललितपुर झम्सीखेलस्थित सिजी होल्डिङ्स, काठमाडौंको डल्लुस्थित सुजुकी सर्भिस सेन्टर, थापाथलीस्थित सूर्य अटोमोबाइल्स र सिजी होल्डिङ्सका प्रोप्राइटरविरुद्ध उपभोक्ता अदालतमा उजुरी दायर गरेका थिए । फिरादकर्ता र प्रतिवादीबीच आपसी समझदारीमा उक्त विषय टुंगिएको उपभोक्ता अदालतका स्रेस्तेदार शोभाकर खरेलले बताए । उनका अनुसार फिरादकर्ताले प्रतिवादीबाट मागदाबीबमोजिम क्षतिपूर्ति प्राप्त गरी स्वयंले उजुरी फिर्ता लिएका हुन् । यादवसम्बद्ध स्रोतले पनि मुद्दा आपसी समझादरीमा टुंगिएको आर्थिक अभियानलाई बताए ।
यादवले आफ्नो गाडी मारुती ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड दुई गाडी मर्मत गराउन जाँदा लामो समयसम्म मर्मत नगरेको, गाडी धनीको अनुमति र पूर्वसूचनाविना इन्जिन खोलेर हानि पुर्याएको भन्दै क्षतिपूर्तिस्वरूप खरीद मूल्य ६२ लाख ६९ हजार रुपैयाँ फिर्ताको मागदाबी गरेका थिए ।
यादवले अदालतमा दायर गरेको फिरादपत्रमा उल्लेख भएअनुसार ७ माघ २०८० मा उनले थापाथलीस्थित सूर्य अटोमोबाइल्स प्रालिबाट उक्त गाडी खरीद गरेका थिए ।
गत असोज ११ र १२ मा आएको बाढी सिद्धिविनायकस्थित उनको घरमै पस्दा रातको समयमा पार्किङमा राखेको गाडी डुबानमा परी बिग्रेको थियो । बुङमती प्रहरीको रोहबरमा प्रतिवेदन तयार पारी उनले अद्यावधिक इन्स्योरेन्सको करारनामा वारेन्टीको सूचनासहित आफ्नो गाडी सट्टा भर्नाको माग गरेका थिए । कम्पनीले गाडी मर्मतसम्भार गरिदिने भनेर लगे पनि ५ महीनाभन्दा लामो समयसम्म कब्जामा राखेको र आफ्नो अनुमतिविनै गाडीको इन्जिन खोलेर पुनः विक्री मूल्य घटाइदिएको भनी यादवले उजुरी दायर गरेका थिए ।
अदालतले सहमतिमा उक्त विषय टुंग्याउन सूचना जारी गरेपछि सिजी होल्डिङ्सले यादवसँग सहमतिको प्रयास गरेको थियो । मुद्दाका प्रतिवादी पक्षले सम्पूर्ण पार्टपुर्जा नयाँ राखिदिएको र मर्मत खर्च सबै प्रतिवादी स्वयंले बेहोरेका कारण आपसी समझदारी बनेको यादवसम्बद्ध स्रोतले बतायो । ‘इन्जिन नम्बर पुरानै भए पनि इन्जिनभित्रको सबै पार्टपुर्जा नयाँ राखिएको र २ वर्षको वारेन्टीसमेत दिइएको छ,’ उनले भने ।