काठमाडौं । नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व बढाएर २५ प्रतिशत पुर्याउने सरकारका एक मन्त्रीले बताएका छन् । हाल नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत स्वामित्व छ । २०६५ सालमा प्रारम्भिक शेयर निष्कासन गरेर कम्पनीमा सर्वसाधारणको स्वामित्व स्थापित गरिएको थियो ।
मंगलवार नेपाल टेलिकमको २१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षभित्रै सरकारी स्वामित्व घटाई सर्वसाधारणको स्वामित्व २५ प्रतिशतसम्म पुर्याउने गरी सरकारले गृहकार्य गरेको बताए ।
‘सरकारी कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधारणको स्वामित्व वृद्धि गरी जनतालाई कम्पनीप्रति अपनत्वको अनुभव गराउन स्वामित्व वृद्धि गर्न लागिएको हो,’ उनले भने, ‘सर्वसाधारणको शेयर स्वामित्व बढ्दा टेलिकमजस्ता सार्वजनिक संस्थामा जनताको निगरानी बढ्नेछ र व्यवस्थापनलाई पनि सर्वसाधारण जनता र ग्राहकप्रति संवेदनशील भएर पारदर्शिता कायम गर्नुपर्ने दबाब बढ्नेछ ।’
टेलिकमका ग्राहकलाई शेयर दिने योजना विष्णु पौडेल २०७८ मा अर्थमन्त्री बनेकै बेला बजेटमार्फत घोषणा गरिएको थियो । बजेटमा उनले नेपाल टेलिकमका ग्राहकलाई २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेका थिए ।
त्यतिबेला टेलिकमका ल्यान्डलाइन, मोबाइल र इन्टरनेट सेवाका ग्राहकले शेयर खरीद गर्न पाउने गरी तयारी गरिएको थियो । यी तीनमध्ये कुनै एक सेवाको ग्राहक बन्ने व्यक्तिले शेयर खरीद प्रक्रियामा भाग लिन पाउने व्यवस्था बजेटमा राखिएको थियो । कम्पनीको शेयर बाँडफाँट प्रक्रिया र शेयर मूल्यको विवरण सोही वर्षको असोज मसान्तभित्र तय गरिने बताइए पनि तत्कालीन सरकारले त्यसबारे कुनै कामै गर्न सकेको थिएन । अहिले सञ्चारमन्त्रीले २५ प्रतिशत शेयर जनतालाई दिने बताए पनि यसको कार्यान्वयन हुन्छ/हुँदैन भन्नेमा अन्योल कायमै छ ।
टेलिकमको वित्तीय अवस्था कस्तो छ ?
नेपाल टेलिकमको आम्दानी र नाफा घट्दो क्रममा रहेको छ । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा कम्पनीको आय ४२ अर्ब ११ करोड रुपैयाँ थियो । अघिल्लो आव २०७९/८० मा यो कम्पनीले ४४ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको खुद मुनाफा पनि विगत २ वर्षयता लगातार घटिरहेको छ । गत आवको टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ छ । यो अघिल्लो आवको तुलनामा कम हो । आव २०७९/८० मा टेलिकमको खुद नाफा ७ अर्ब ९४ करोड र २०७८/७९ मा ८ अर्ब ४७ करोड रुपैयाँ थियो ।
‘भोवाइफाई’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा
नेपाल टेलिकमले ‘भोवाइफाई’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । मंगलवार टेलिकमको २१औं वार्षिकोत्सवको अवसरमा यो सेवा औपचारिक रूपमा शुरू गरिएको हो । यो प्रविधिमार्फत ‘भोवाइफाई’ सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका कुनै पनि मोबाइल फोनबाट नेपालभित्र तथा विदेशबाट वाइफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गरी भ्वाइस तथा एसएमएस सेवा लिन सकिनेछ ।
कम्पनीका अनुसार नेपालभित्र यो सेवा प्रयोग गर्दा साबिककै भ्वाइस/एसएमएस प्याकेज वा पे–एज–यू–गो दरअनुसार शुल्क लाग्नेछ । विदेशबाट यो सेवा प्रयोग गर्दा आगमन कल नि:शुल्क हुनेछ भने बाहिर जाने कलको शुल्क प्रतिमिनेट ३ रुपैयाँ लाग्नेछ ।
‘भोवाइफाई’ सेवाको शुरुआतसँगै ग्राहकलाई थप सहज र प्रविधिमैत्री सञ्चार सेवा उपलब्ध गराउने कम्पनीले योजना छ । ‘भोवाइफाई’ अर्थात् भ्वाइस ओभर वाइफाई एक प्रविधि हो, जसले प्रयोगकर्तालाई वाइफाई नेटवर्कमार्फत फोन कल तथा एसएमएस सेवा प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ । सामान्यतया, मोबाइल कलहरू सेलुलर नेटवर्क (जस्तै– टू जी, थ्री जी, फोर जी) को माध्यमबाट गरिन्छ । तर, ‘भोवाइफाई’ सेवाले मोबाइल नेटवर्क नभएको ठाउँमा पनि वाइफाईमार्फत कल गर्न र एसएमएस पठाउन सकिनेछ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि गत आव घटेर ३४ रुपैयाँ ६१ पैसा कायम भएको छ । अघिल्लो आव २०७९/८० मा प्रतिशेयर आम्दानी ४४ रुपैयाँ १६ पैसा रहेको थियो ।
टेलिकमले नाफा कमाएबापतको लाभांश ६ अर्ब ५८ करोड सरकारी कोषमा दाखिला गरेको छ । सम्पत्ति र सवारीसाधान कर ५ करोड ८२ लाख रुपैयाँ तिरेको छ । टेलिकमले गतवर्ष इजाजतपत्रको नवीकरण गराउनुपर्ने भएकोले एकमुष्ट लाइसेन्स शुल्क १६ अर्ब ९८ करोड रुपैयाँ तिरेको थियो ।
टेलिकमको आम्दानी वार्षिक रूपमा घट्दै गए पनि बढ्दो खर्चले संस्था टिकाउन चुनौतीपूर्ण भएको गुनासो टेलिकमले गर्दै आएको छ । नेपाल टेलिकमका अनुसार पछिल्ला वर्षहरूमा भ्वाइस सेवाका प्रयोगकर्ता निरन्तर घट्दै गएका छन् भने डेटा प्रयोगकर्ता बढ्दै गएका छन् । टेलिकमका सेवाप्रदायकको प्लेटफर्म प्रयोग गरेर ओभर दी टप (ओटीटी)को प्रयोग बढेकाले टेलिकम क्षेत्रले वार्षिक आम्दानी नै गुमाउनुपरेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् ।
उनका अनुसार टेलिकमले डिजिटल मार्केटिङ तथा फाइभ जी आयोजनाका कार्यलाई विशेष महत्त्वका साथ कार्यान्वयनमा लैजाने तयारी गरेको छ । सञ्चारमन्त्री गुरुङले नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लैजान आवश्यक रहेको बताए । उनका अनुसार टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्ने समय आएको छ । ‘आम्दानीको क्षेत्रमा लाग्न सकेका छैनौं । टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्छ । नेपाल टेलिकमले कार्यक्षेत्र, सेवाको क्षेत्र विस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्छ । टेलिकमको क्षेत्रलाई अरुले उछिनेको छ । त्यसबारेमा टेलिकमको ध्यानाकर्षण हुनुपर्छ,’ उनले भने ।
उनका अनुसार फोर जीलाई देशभर घरघरमा पुर्याउँदै देशका प्रमुख शहरमा नेपाल टेलिकमले फाइभ जीको थालनी गर्नुपर्छ । अब फाइभ जी शुरू नगरे प्रविधिमा नेपाल पछि पर्नेछ ।