काठमाडौं । भारतले नेपालका केही औद्योगिक वस्तुको गुणस्तर प्रमाणपत्र नवीकरणमा ढिलाइ गरेका कारण ती वस्तु निर्यातमा अवरोध भएपछि सरकारले नयाँ दिल्लीलाई निर्यातमा सहजीकरण गरिदिन पत्राचार गरेको छ ।
भारतको गुणस्तर प्रमाणपत्र दिने निकाय ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस् (बीआईएस)ले त्यस्तो प्रमाणपत्र नवीकरण गर्न ढिला गरेपछि केही महीनादेखि सिमेन्ट, जस्तापाता, जुत्ता, प्लाइउड र स्यानिटरी प्याडको निर्यात प्रभावित भएको छ ।
‘विगतमा विभिन्न द्विपक्षीय भेटघाटमा र अनौपचारिक ढंगले यो मामिला शीघ्र सम्बोधन गर्न भारतलाई अनुरोध गर्दै आएका थियौं,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भने, ‘समस्या समाधानमा ढिलाइ भएपछि परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्र पठाएका छौं । औपचारिक चिठी नै पठाएको पहिलोपल्ट हो ।’ उनका अनुसार वाणिज्य मन्त्रालयले सोमवार परराष्ट्र मन्त्रालयमा पत्र पुर्याएको थियो । उक्त पत्र कूटनीतिक संयन्त्रमार्फत भारतीय सरकारसमक्ष पुग्नेछ । ‘पत्रमा हामीले गुणस्तर प्रमाणपत्र छिटो उपलब्ध गराइदिन आग्रह गरेका छौं,’ अधिकारीले भने ।
ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस् (बीआईएस)ले गुणस्तर प्रमाणपत्र नवीकरण गर्न ढिला गरेपछि केही महीनादेखि सिमेन्ट र जस्तापाता, जुत्ता, प्लाइउड र स्यानिटरी प्याडको निर्यात प्रभावित भएको छ ।
नयाँ दिल्लीले नेपालमा उत्पादित जुत्ता, प्लाइउड र स्यानिटरी प्याडजस्ता वस्तुको भारत निकासी थप केही महीनाका लागि सहज बनाएको नेपाली निर्यातकर्ताले बताएका छन् । उनीहरूका अनुसार अहिलेको गुणस्तर प्रमाणपत्र नै सन् २०२५ को जनवरीसम्म मान्य हुने गरी सहज गरेको सुनिएको तर औपचारिक रूपमा भारतीय पक्षबाट जानकारी नआएको अधिकारीले बताए । सिमेन्ट र जस्ता पाता निर्यातमा अवरोध कायमै रहेको उनको भनाइ छ ।
अवरोधका कारण चालू आर्थिक वर्षको पहिलो ३ महीनामा भारततर्फ सिमेन्ट निर्यातमा व्यापक गिरावट आएको छ । गत आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा १ लाख ५५ हजार २४८ टन सिमेन्ट भारत निर्यात गरेको नेपालले चालू आवको पहिलो त्रैमासमा १८ हजार ३०८ टन मात्र निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ ।
नेपालले विभिन्न नौ थरी विदेशी दुग्ध पदार्थ आयातमा लगाएको प्रतिबन्ध खुलाउन दबाबका रूपमा भारतले गुणस्तर प्रमाणपत्र नवीकरणमा ढिलाइ गरेको यसअघि सरकारी अधिकारीहरूले बताएका थिए ।
नेपालले हाल पैठारीमा प्ूर्ण रोक लगाएका दुग्ध पदार्थमा चिल्लो हटाइएको दूध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्ल्यूएमपी), एसएमपी, ह्वे र परिवर्तित ह्वे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको गुलियो पारेको वा नपारेको, नौनी (बटर), घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धूलो नपारेको चिज, भुजुरी पारेको वा धूलो पारेका सबै प्रकारको चिज छन् ।
भारतले गुणस्तर प्रमाणपत्र नवीकरण नगरेर निर्यात नै प्रभावित भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध पदार्थ आयात खुलाउन छलफल थालेको थियो । ‘अहिले कृषि मन्त्रालयले प्रतिबन्ध फुकाउने/नफुकाउने विषयमा अध्ययन गर्न थालेको सुनका छौं,’ अधिकारले भने ।