काठमाडौं । पर्यटकीय सिजनमा ७० प्रतिशतमाथि अकुपेन्सी हुने भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा सामान्य अवस्थाभन्दा अहिले अनलाइन बुकिङ बढेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कात्तिक २३ देखि केही अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले नियमित उडान शुरू गर्नुभन्दा केही दिन अघिदेखि उक्त रिसोर्टमा अनलाइन बुकिङ बढ्न थालेको रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक लेखक बताउँछन् ।
अहिले कुवेत, दुबई र कतारबाट अनलाइन बुकिङ बढेको भन्दै उनले थपे, ‘यही हप्ता १० दिनको बीचमा अनलाइन बुकिङ ८/१० प्रतिशतले वृद्धि भएको छ । साथै सामान्य अवस्थामा भन्दा यसबीचमा कनेक्टिङ फ्लाइट भएका देश (कतार, दुबई र कुवेत)बाट बुकिङ बढेको हो ।’
उनका अनुसार त्यसरी बुकिङ गर्नेमा नेपालका कामदार लिने देशकै कम्पनीका प्रतिनिधिहरू छन् । ‘उनीहरूको बुकिङ अवधि भने १/२ रातको छ,’ लेखकले भने ।
ती देशबाट बुकिङ बढ्न थालेपछि रिसोर्टले खाडी राष्ट्रमा बजार प्रवर्द्धनका लागि क्रियाकलाप अघि बढाउने रणनीति बनाउन थालेको छ ।
विदेशी लगानीको उक्त रिसोर्ट सन् २०१७ देखि सञ्चालनमा छ । प्रारम्भिक लगानी ६ अर्ब रुपैयाँ रहेको उक्त रिसोर्टका प्रमुख पाहुना भारतीय नै हुन् । बुद्ध जन्मिएको देश र स्थान भनेर मात्रै नहुने र यसको प्रवर्द्धनका लागि पूर्वाधार बन्नैपर्ने भन्दै यो भेगमा होटेलमा लगानी बढाएका व्यवसायीलाई भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आएपछि थप राहत पुग्ने तर्क व्यवसायीको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा १० घण्टा बन्द हुँदा ३० प्रतिशत अन्तरराष्ट्रिय उडान कटौती भएका छन् । त्यसलाई पूर्ति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवामा उडान सञ्चालन गर्न आग्रह गरेको थियो ।
त्यसअनुसार हाल स्वदेशी नेपाल एयरलाइन्सलगायत विदेशी कतार एयरवेज, जजिरा, फ्लाई दुबई र थाइ एयर एशियाले भैरहवामा उडान शुरू गरिसकेका छन् ।
अझै धेरै एयरलाइन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा घटेको सबै उडान भैरहवा ल्याएर परिपूर्ति गरेका छैनन् । गौतमबुद्ध विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन थालेपछि यहाँको होटेलहरूमा चहलपहल बढेको सद्धार्थ बिजनेश ग्रूप अप हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने बताउँछन् ।
‘बुद्धिष्ट सर्किटका पर्यटक लुम्बिनीमा आएर पनि भारतमै बस्थे, फर्किन्थे अहिले हाम्रो होटेलमा डाइर्भट भएका छन्,’ न्यौपानेले भने, ‘काठमाडौंबाहिर पाँचतारे होटेल बनाउने योजनाअनुसार रूपन्देहीलाई बुद्ध जन्मेको स्थान र विमानस्थल पनि बनेकै कारण लगानीस्थलका रूपमा रोजिएको हो ।’
- कुवेत, दुबई र कतारबाट अनलाइन बुकिङ बढ्यो
- भैरहवा उत्रिने अधिकांश एयरलाइन्सका यात्रु नेपाली श्रमिक
- भियतनाम, श्रीलंका, म्यानमार, थाइल्यान्ड तथा चीनबाट उडान भए पर्यटक आउने होटेल व्यवसायीको भनाइ
- भैरहवा क्षेत्रमा ८० अर्ब रुपैयाँ लगानीका होटेल सञ्चालनमा
दुई अर्ब रुपैयाँ लगानी गरेर उक्त समूहले पाँचतारे सिद्धार्थ भिलास होटेल सञ्चालनमा ल्याइसकेको छ । औपचारिक उद्घाटन नगरे पनि सो होटेल १ वर्षदेखि सञ्चालनमा छ । आउँदो अंग्रेजी नयाँ वर्षको अवसर पारेर भव्य उद्घाटन गर्ने तयारी रहेको न्यौपानेले बताए ।
सिद्धार्थनगरको चारतारे मौर्या होटेलका अध्यक्ष रामबहादुर कोइरीले अन्तरराष्ट्रिय उडान शुरू भए पनि त्यसको प्रभाव तत्काल खासै नदेखिएको बताए । ‘अहिले होटेलमा ४०–५० प्रतिशत अकुपेन्सी हुने गरेको छ,’ उनले भने, ‘विमानस्थलमा उडान नियमित सञ्चालन भएमा बाह्य पर्यटक पनि बढ्ने आश जागेको छ ।’
उनले कोरोना महामारी शुरू हुँदा होटेल सञ्चालनमा ल्याएका थिए । सन् २०१९ डिसेम्बरमा औपचारिक रूपमा सञ्चालनमा आएको उक्त होटेलमा १ अर्ब ५० करोड रुपैयाँ लगानी भएको कोइरीको भनाइ छ ।
भैरहवाका व्यवसायीले त्यहाँको पर्यटकीय सिजन भनेर अक्टोबरदेखि मार्चसम्मको ६ महीनालाई मान्छन् । यो बेला भैरहवा क्षेत्रका होटेलमा सामान्यतया ५० देखि ६० प्रतिशत र अन्य समयमा २० देखि ३० प्रतिशत अकुपेन्सी हुने त्यहाँका व्यवसायी बताउँछन् ।
होटेल व्यवसायीहरूको संगठन होटेल संघ नेपाल (हान) भैरहवा रूपन्देशी च्याप्टरका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थलमा उडान हुन थालेपछि होटेलमा सोधखोज बढेको बताए । ‘विमानस्थल सञ्चालन भए पनि थाई एयर एशियाले मात्रै पर्यटक ल्याउने गरेको छ ।
अन्य एयरलाइन्सले मूलत: नेपाली श्रमिक बोक्ने गरेका छन्,’ उनले भने, ‘अहिले यो विमानस्थलबाट कनेक्टिङ फ्लाइट भएको हुँदा काठमाडौं मै होटेल धेरै बुकिङ गरेको छ ।’
श्रेष्ठले सन् २०१० मा चारतारे होटेल नान्स सञ्चालनमा ल्याएका थिए । होटेलका प्रबन्ध निर्देशक समेत रहेका उनले लुम्बिनी पर्यटक आउने देशहरू भियतनाम, श्रीलंका, म्यानमार, थाइल्यान्ड र चीनबाट भैरहवामा उडान हुनुपर्नेमा जोड दिए । त्यसपछि मात्रै भैरहवा विमानस्थल सञ्चालनमा आउँदा यहाँका होटेल व्यवसायी र आर्थिक गतिविधिमा बढोत्तरी हुने उनको तर्क छ ।
अहिलेको अन्तरराष्ट्रिय उडानले निरन्तरता पाउछ कि पाउँदैन भन्ने चिन्ता होटेल व्यवसायीलाई छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति सकिएपछि अहिले भैरहवा उडान गरिरहेका अन्तररािष्ट्रय एयरलाइन्सले उडान गर्न छाड्ने हुन् कि भन्ने चिन्ता उनीहरूमा छ ।
अहिले यो विमानस्थलमा उडान भइरहे पनि यो कत्तिको टिकाउ हुन्छ भन्ने आशंका रहेको श्रेष्ठ बताउँछन् । सरकारले गरेका निर्णय र विमानस्थल बनिसकेपछि यहाँ राख्नुपर्ने सरकारी कार्यालयहरू, श्रम स्वीकृति, स्वास्थ्य जाँचलगायत, बीमा, भिसाका कुराहरू अझै बाँकी छन् । ‘यसकारण २/४ महीनापछि विमानस्थल नचल्ने हो कि भन्ने आशंका छ,’ उनले भने ।
उनका अनुसार भैरहवा क्षेत्रमा मात्रै होटेलमा ८० अर्ब रुपैयाँ लगानी भइसकेको छ । भैरहवामा विमानस्थलका साथै पाँचतारे, चारतारे होटेलमा लगानी भएको छ । विमानस्थल नचल्दा व्यवसाय नै धराशयी अवस्था रहेको उनले बताए ।
२०७९ जेठ २ गते यो अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । त्यो बेला एउटा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी कुवेतको जजिरा एयरले उडान गरेको थियो ।
जजिराले केही समयपछि भैरहवा उडान रोकेपछि लामो समयसम्म यो विमानस्थमा नियमित अन्तरराष्ट्रिय उडान भएन । त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द हुने थालेपछि कात्तिक २३ गतेदेखि यो विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ ।