काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–१ शुभारम्भ गरेको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त परियोजनाको शुभारम्भ गरे । सो कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीहरूको समेत उपस्थिति थियो ।
१२ करोड ८० लाख अमेरिकी डलर (१७ अर्ब १५ करोड रुपैयाँ) बराबरको उक्त परियोजनामा प्रादेशिक तथा स्थानीय सडक सुधारका काम गरिनेछ ।
यस परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी बढाउने, सुरक्षा अभिवृद्धि गर्ने रसडक सञ्जाल व्यवस्थापन गर्ने बताइएको छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्नेछ ।
कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले उक्त परियोजनाले दिगो पूर्वाधार विकासमा टेवा पुर्याउने बताए ।
आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४ सय किलोमिटर र ७ सय किलोमिटर अवस्थित प्रादेशिक सडक र पुलहरूको मर्मतसम्भार हुने बताइएको छ ।
तीन चरणको आयोजनामध्ये पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका साथै १३ नगरपालिकाकामा कार्यान्वयन गरिने बताइएको छ ।