काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) अन्तर्गत नेपालले बीबी माइनस प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ फिचले नेपालको आर्थिक अवस्थाको सुक्ष्म विश्लेषण गर्दै बीबी माइनस दिएको हो ।
राजनीति अस्थीरता र संक्रमणका बीच आर्थिक सुधारको क्षेत्रमा नेपालले महत्त्वपूर्ण कदम चाल्दै गएका कारण अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको फिचको प्रतिवेदनमा उल्लेख छ ।
सन् २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र त्यसपछिको राजनीतिक सङ्क्रमणपछि पनि नेपालमा सुधार आइरहेको भए पनि नेपालको अर्थतन्त्रमा दर्जनौं चुनौतीहरू प्रतिवेदनले देखाइएको छ ।
बिहीवार सार्वजनिक प्रतिवेदनमा नेपालमा सन् २०१४ को शुरुवातदेखि आठओटा सरकार परिवर्तनहरू भएको र बारम्बार सत्ता संघर्ष र राजनीतिक गठबन्धन परिवर्तनले दीर्घकालीन नीति निर्माण र विकास योजनालाई कमजोर पारेको बताइएको छ । सरकार परिवर्तन भएकै कारण केन्द्रीय बैंक संचालनमा समेत प्रभाव परिरहेको फिचले क्रेडिट रेटिङमा उल्लेख छ ।
नेपालको सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ प्रतिशत रहेको र जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा कम रहेको, बाह्य ऋणको करिब ४० प्रतिशत अति सहुलियत दरमा रहेको र जसले देशको वित्तीय स्थितिलाई थप मजबुत बनाएको बताइएको छ ।