वित्तीय अपराधका घटनाहरू विश्वव्यापी रूपमा नै दिन प्रतिदिन बढ्दो छ । प्रविधिको विकास सँगसँगै वित्तीय अपाराधका तरीकाहरूमा पनि दिन प्रतिदिन परिवर्तन हुँदै आएको छ । वित्तीय अपराधका लागि आवश्यक आपराधिक मनोवृत्तिलाई विभिन्न तत्त्वहरूले प्रोत्साहित गरेका हुन्छन् । आमरूपमा अहिले वित्तीय अपराध गर्न कुनै पनि व्यक्तिलाई ‘दबाब’, ‘अवसर’ र ‘अपराधको औचित्यपुष्टि’जस्ता तीनओटा मनोवैज्ञानिक तत्त्वहरूलाई जिम्मेवार मानिन्छ । यी तीनओटा तत्त्वका अतिरिक्त अन्य केही मानोवैज्ञानिक तत्त्वहरूले पनि वित्तीय अपराध गर्नलाई प्रेरित गर्ने मानिन्छ । यिनै केही अतिरिक्त तत्त्वहरूमा ‘निष्क्रिय आक्रामकता’लाई पनि लिन सकिन्छ । हुन त ‘निष्क्रिय आक्रामकता’लाई माथि उल्लिखित तीन तत्त्वमध्येको ‘दबाब’ को उपतत्त्वका रूपमा पनि लिन सकिन्छ । यो सानो आलेखमा निष्क्रिय आक्रामकताका विविध पक्षहरू बारे चर्चा गर्दै कसरी त्यसले वित्तीय अपराधलाई प्रोत्साहित गर्ने गर्छ भन्ने बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
के हो निष्क्रिय आक्रामकता ?
निष्क्रिय आक्रामकताको बारेमा चर्चा गर्नुपहिले सामान्य आक्रामकताको बारेमा कुरा गरौं । सरल अर्थमा भन्ने हो भने आक्रामकता भन्नाले कुनै व्यक्ति एवं वस्तुप्रति दर्शाइने विरोधको एक स्वरूप हो । यस्तो विरोधको स्वरूप प्रत्यक्ष तथा अप्रत्यक्ष हुने गर्छ । प्रत्यक्ष रूपमा गरिने विरोध अन्तर्गत शारीरिक एवं मौखिक रूपमा गरिने प्रत्यक्ष विरोध बुझिन्छ भने अप्रत्यक्ष विरोधअन्तर्गत विभिन्न प्रकारका व्यवहारबाट परोक्ष रूपमा सामाजिक एवं व्यक्तिगत सम्बन्धमा हानि पुर्याउने गरिन्छ । यस प्रकारको सामान्य आक्रामकता व्यक्तिको व्यवहार, भावभंगी, बोलीचाली वा शारीरिक क्रियाकलापको माध्यमबाट सजिलै स्पष्टसँग अनुभव गर्न सकिन्छ । तर, ‘निष्क्रिय आक्रामकता’को प्रकृति यस्तो हुँदैन ।
निष्क्रिय आक्रामकतामा कुनै पनि व्यक्तिले सामान्य आक्रमकतामा जस्तो सीधै अनुभव गर्ने गरी आक्रमण गरेको हुँदैन । उसले आफ्नो बोलीचाली, व्यवहार एवं भावभंगीमा त्यस प्रकारको आक्रामकताको आभास नै हुन दिदैन । यस अर्थमा भन्नाले आफूमा भएको नकारात्मक भावलाई अर्को व्यक्तिले सजिलै बुझ्ने गरी प्रत्यक्ष रूपमा व्यक्त नगरी त्यसलाई सकारात्मक भावको आवरणमा अप्रत्यक्ष रूपमा नकारात्मक भाव व्यक्त गर्ने प्रक्रियालाई निष्क्रिय आक्रामकता भनी बुझ्न सकिन्छ ।
कुनै कर्मचारीलाई हतोत्साही बनाउने उद्देश्यले वा निकाल्ने उद्देश्ले अप्रत्यक्ष रूपमा गलत काम गर्न तथा प्रतिकूल अवस्था स्वयं नै सृजना गराउन विभिन्न प्रकारले ‘हौस्याउने वा उक्साउने’ जस्तो निष्क्रिय आक्रामकताको अर्को डरलाग्दो अवस्थाले पनि सम्बद्ध कर्मचारीलाई वित्तीय अपराध गर्न मनोवैज्ञानिक रूपमा अभिप्रेरित गर्छ ।
निष्क्रिय आक्रामकताको ‘गुण’ भएका व्यक्तिहरूले आफ्नो वास्तविक नकारात्मक छविलाई सकारात्मक गुणहरूको आवरणले ढाकेका हुन्छन् । त्यसैले उनीहरूको आवरण हटाएर यथार्थ बुझ्न त्यस प्रकारको अपराधमा शिकार हुनेहरूका लागि सहज हुँदैन । व्यक्ति–व्यक्ति बीचका सम्बन्धमा जस्तै कानूनी व्यक्तिका कतिपय व्यवहारमा समेत ‘निष्क्रिय आक्रामकता’ को विषय त्यति नै सान्दर्भिक हुन आउँछ ।
कम्पनीहरूमा व्यवस्थापनले गर्ने केही व्यवहार एवं कार्यलाई निष्क्रिय आक्रामकतासँग जोडेर हेर्न सकिन्छ । खास गरी अधिकार प्राप्त अन्य व्यक्ति वा समूहले राखेको मागप्रति विरोध गर्नु वा व्यवधान खडा गर्ने प्रयत्न गर्नु, उनीहरूको माग वा कुराप्रति जानीजानी आलटाल गर्नु, असहयोग गर्नु वा सम्बोधन गर्दा नियतवश गलत ढंगले सम्बोधन गर्नुजस्ता कार्यलाई निष्क्रिय आक्रामकताको उदाहरण मान्न सकिन्छ । त्यसैगरी व्यभिचारी र द्वेषकारी प्रवृत्ति देखाउनु एवं बारम्बार कसैलाई कम आँक्नु एवं जानीजानी छल गर्नुजस्ता कार्यलाई पनि निष्क्रिय आक्रामकताको कोटिमा राख्न सकिन्छ । यी सबै कारणले निष्क्रिय आक्रामकता आफैमा मानसिक रोग नभए पनि यसलाई अन्य विभिन्न मानसिक रोगको परिणाम पनि मानिन्छ र यस्ता व्यवहार देखाउने व्यक्तिहरूलाई मानसिक परामर्शदाताको सेवा लिने सल्लाह पनि दिने गरिन्छ ।
कुनै पनि कम्पनीमा सामान्य कर्मचारी, हाकिम वा ग्राहक सबैले यस प्रकारको निष्क्रिय आक्रामकता अवलम्बन गरेका हुन सक्छन् । यदि कुनै कर्मचारीले आफूलाई हाकिमले अह्राएको कुनै महत्त्वपूर्ण कामको सन्दर्भमा कुनै पनि प्रकारको निर्देशन जानकारी प्राप्त नगरेको दाबी गर्न सक्छ । यसबाट उसले हाकिमले दिएको निर्देशनप्रति अप्रत्यक्ष रूपमा आक्रमण (असहमति) प्रकट गर्न त्यस प्रकारको निर्देशन नै नपाएको दाबीलाई सकारात्मक रूपमा प्रस्तुत गर्न सक्छ । यस्ता कर्मचारीलाई ‘निष्क्रिय आक्रामक कर्मचारी’ मान्न सकिन्छ ।
ठीक त्यसै गरी यदि कुनै हाकिमले कुनै कर्मचारीप्रति निष्क्रिय रूपमा आक्रमण गर्नुपर्यो भने उसलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध नगराई कुनै नयाँ काम सुम्पन सक्दछ । आवश्यक स्रोत र साधनविना उसले उक्त कम फत्ते गर्न नसक्ने जानी जानी त्यस्तो कम दिएर हाकिमले अप्रत्यक्ष रूपमा उक्त कर्मचारीप्रति आक्रमण गरेको हुन्छ । यो ‘निष्क्रिय आक्रामक हाकिम’को एक उदाहरण हो ।
सामूहिक रूपमा सम्पन्न गर्नुपर्ने परियोजनामा कतिपय सहकर्मीहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका समयमा नै पूरा नगरी अप्रत्यक्ष रूपमा निर्धारित समयमा परियोजना पूर्ण नहुने वातावरण सृजना गर्ने ‘निष्क्रिय आक्रामक सहकर्मी’ पनि रहन सक्छन् । ठीक त्यसै गरी कम्पनीका सामान्य कर्मचारी अगाडि ठिक्क पारेर सबै शर्तमा मन्जुरी जनाउने तर पछि उच्च अधिकारी समक्ष गएर आफूले पहिले मन्जुरी जनाएका विषयमा असहमति प्रकट गर्ने ग्राहकहरूलाई ‘निष्क्रिय आक्रामक ग्राहक’ मान्न सकिन्छ । यसरी कुनै पनि कम्पनीमा कर्मचारीदेखि लिएर ग्राहक सम्मले ‘निष्क्रिय आक्रमकता’को व्यवहार देखाएका हुन सक्छन् ।
वित्तीय अपराधमा निष्क्रिय आक्रामकताको भूमिका
कम्पनीहरूमा भिन्नभिन्न स्वरूपमा अनुभव गरिने निष्क्रिय आक्रामकतालाई समयमै यथोचित सम्वोधन गरी नियन्त्रण गर्नुपर्छ । निष्क्रिय आक्रामकताका रूपमा अनुभव गिने ‘आलटाले प्रवृत्ति’लाई चुस्त र व्यवस्थित ढंगले सम्बोधन नगर्ने हो भने कालान्तरमा त्यसले वित्तीय अपराधीका लागि उपयुक्त अवसरको रूपमा आफ्नो स्वरूप परिवर्तन गर्ने सम्भावना प्रबल रहन्छ । यस्तो अवस्थालाई सुधार्नका लागि उच्च व्यवस्थापनले कुनै पनि कामको उपयुक्त समयसीमा निर्धारण गरी त्यसको निरन्तर अनुगमन गर्ने हो भने त्यसले एकातिर आलटाले प्रवृत्तिको अन्त्य हुन्छ भने अर्कोतिर त्यसले यसै कारणले हुन सक्ने वित्तीय अपराधको सम्भावनालाई समेत अन्त्य गरिदिन्छ ।
यसै गरी कुनै पनि कम्पनीमा कर्मचारीहरू एउटा सानो मसिनो काम देखाएर टेबल भरिभराउ राखेर अन्य जिम्मेवारीबाट पन्छिने गरी निष्क्रिय आक्रामकताको अर्को स्वरूप ‘अन्तध्वंस’मा तल्लीन हुन सक्छन् । यसबाट कम्पनीको स्वार्थपूर्ति हुने गरी त्यस्ता कर्मचारीबाट कार्य सम्पादन त हुँदैन नै यस्तो प्रवृतिलाई मौलाउने अवसर दिने हो भने त्यसले पनि कालान्तरमा वित्तीय अपराधका लागि अवसरको सृजना गर्छ ।
कुनै पनि कम्पनीमा निष्क्रिय आक्रामकताका रूपमा रहने अर्को स्वरूप कम्पनीका विविध पक्षप्रति देखाइने ‘अवमूल्यन’ पनि हो । कम्पनीका सञ्चालक, वरिष्ठ कार्यकारीहरू, कम्पनीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना, आवधिक रणनीति, जस्ता कम्पनीका विविध पक्षहरूमाथि बारम्बार अवमूल्यन गर्ने संस्कृतिको निरन्तरताले कर्मचारीहरूको कम्पनीप्रतिको आत्मीयता तथा बफादारीमाथि गम्भीर आघात पार्छ । कम्पनीप्रतिको आत्मीयता र वफादारितामा ह्रास आउने प्रवृत्तिले कम्पनीविरुद्ध वित्तीय एवं अन्य अपराधका लागि नै प्रोत्साहित गर्ने गर्छ । यसलाई नियन्त्रण गर्न सम्बद्ध सबै पक्षसँग पारदर्शी ढंगले नियमित रूपमा छलफल तथा अन्तरक्रिया गर्नेजस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ।
निष्क्रिय आक्रामकताको व्यवहारले पोख्त व्यक्तिले आफ्नो भावना तथा आक्रोशलाई तोडमोड गर्ने क्षमता राख्छ । बाहिर हाँसेर, मीठो बोलेर, तथा चाप्लुसी पूर्ण व्यवहार गरेर अरूलाई भ्रममा पारी विश्वासमा लिएर आर्थिक एवं वित्तीय अपराध गर्ने सम्भावना प्रबल रहन्छ ।
कुनै पनि कम्पनीमा विद्यमान ‘दोषारोपण’ गर्ने प्रवृत्ति अर्को खतरनाक निष्क्रिय आक्रामकता हो । यसमा कुनै कर्मचारी तथा व्यवस्थापक स्वयं नै पनि कम्पनीको खराब अवस्थाका लागि आफूले जिम्मेवारी नलिएर अरूमाथि दोषारोपण गर्ने गर्छन् । अर्को शब्दमा भन्ने हो भने जिम्मेवारी र जवाफदेहीपनको अभाव यस प्रकारको निष्क्रिय आक्रामकताका परिणाम हुन् । जुन कम्पनीमा यी दुई महत्त्वपूर्ण तत्त्वहरूको अभाव हुन्छ त्यहाँ निश्चय पनि वित्तीय अपराधका लागि उर्वर भूमिको सृजना हुन्छ । यसको निराकरणका लागि पारदर्शी रूपमा उपलब्धिको समीक्षा गर्ने परिपाटी बसाउँदै कमीकमजोरीलाई सुधार्ने पर्याप्त अवसर दिने गर्नुपर्छ न कि असल मनसायले गरेको कामको अनपेक्षित परिणामका लागि कसैलाई ‘बलिको बोको’ बनाइयोस् ।
सहकर्मी वा हाकिमलाई खराब देखाउने मनसायले कुनै कामलाई समयमा नै फत्ते नगर्ने तर ‘ओगटेर राख्ने’ किसिमको निष्क्रिय आक्रामकताको विद्यमानतालाई अन्त्य नगर्ने हो भने पनि त्यसले कालान्तरमा वित्तीय अपराध फस्टाउने अवसर प्रदान गर्छ । कुनै कर्मचारीलाई हतोत्साही बनाउने उद्देश्यले वा निकाल्ने उद्देश्यले अप्रत्यक्ष रूपमा गलत काम गर्न तथा प्रतिकूल अवस्था स्वयं नै सृजना गराउन विभिन्न प्रकारले ‘हौस्याउने वा उक्साउने’ जस्तो निष्क्रिय आक्रामकताको अर्को डरलाग्दो अवस्थाले पनि सम्बद्ध कर्मचारीलाई वित्तीय अपराध गर्न मनोवैज्ञानिक रूपमा अभिप्रेरित गर्छ ।
कम्पनीहरूमा देखिने अर्को निष्क्रिय आक्रामकताको उदाहरणका रूपमा न्यून कार्य सम्पादन गर्ने अनुमानको आधारमा कुनै निश्चित कर्मचारीलाई उसको कार्यक्षमताभन्दा अपेक्षाकृत कम महत्त्वको काम सुम्पने गरिन्छ । यसो गरेर कम्पनीले उक्त कर्मचारीलाई अप्रत्यक्ष रूपमा ‘चुपचाप निष्कासन’को मार्ग अवलम्बन गर्न प्रेरित गरेको हुन्छ । तर, जब सम्बद्ध कर्मचारीले यो कुराको आभास पाउँछ तब उसमा कम्पनीप्रति प्रतिशोधको भाव विकास हुन सक्छ र परिणामस्वरूप ऊ कम्पनीको विरुद्ध वित्तीय तथा अन्य अपराध गर्न प्रोत्साहित हुन सक्छ । यसको लागि योग्यता र क्षमताअनुरूप कर्मचारीहरूलाई यथोचित जिम्मेवारी सुम्पनुका साथै यदि कुनै कमीकमजोरी रहेको अवस्थामा त्यसलाई सुधार गर्ने असल मनसायका साथ सम्बद्ध कर्मचारीसँग सकारात्मक अन्तरक्रिया गर्न सकिन्छ ।
व्यक्तिका सम्बन्धमा कुरा गर्दा निष्क्रिय आक्रामकताको व्यवहारले पोख्त व्यक्तिले आफ्नो भावना तथा आक्रोशलाई तोडमोड गर्ने क्षमता राख्छन् । बाहिर हाँसेर, मीठो बोलेर, तथा चाप्लुसी पूर्ण व्यवहार गरेर अरूलाई भ्रममा पारी विश्वासमा लिएर त्यस्ता व्यक्तिहरूले आर्थिक एवं वित्तीय अपराध गर्ने सम्भावना प्रबल रहन्छ । त्यसैले अत्यधिक मिठा एवं चिप्ला कुराहरूप्रति पनि सजग हुनु जरुरी छ । अझ डरलाग्दो कुरा यस्तो व्यवहार गर्न जान्ने व्यक्तिहरूले अरू व्यक्तिको व्यवहार माथि पनि केही हदसम्म नियन्त्रण गर्ने तरीका जानेका हुन्छन् र आफ्नो स्वार्थपूर्ति गर्न अरू व्यक्तिलाई सोहीअनुरूपको काम गर्न छद्म रूपमा अभिप्रेरित गरेका हुन सक्छन् ।
लेखक सम्पत्ति शुद्धीकरण सम्बन्धमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।
निष्क्रिय आक्रामकताको व्यवहारले पोख्त व्यक्तिले आफ्नो भावना तथा आक्रोशलाई तोडमोड गर्ने क्षमता राख्छ । बाहिर हाँसेर, मीठो बोलेर, तथा चाप्लुसी पूर्ण व्यवहार गरेर अरूलाई भ्रममा पारी विश्वासमा लिएर आर्थिक एवं वित्तीय अपराध गर्ने सम्भावना प्रबल रहन्छ ।
कुनै कर्मचारीलाई हतोत्साही बनाउने उद्देश्यले वा निकाल्ने उद्देश्ले अप्रत्यक्ष रूपमा गलत काम गर्न तथा प्रतिकूल अवस्था स्वयं नै सृजना गराउन विभिन्न प्रकारले ‘हौस्याउने वा उक्साउने’ जस्तो निष्क्रिय आक्रामकताको अर्को डरलाग्दो अवस्थाले पनि सम्बद्ध कर्मचारीलाई वित्तीय अपराध गर्न मनोवैज्ञानिक रूपमा अभिप्रेरित गर्छ ।