काठमाडौं । बुधवार नेप्से परिसूचक ९ दशलमव ०९ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ७११ दशमलव ७५ विन्दुमा कायम भएको हो ।
यसो त बुधवार 'इन्ट्राडे'मा नेप्से २ हजार ६८३ दशमलव ७९ विन्दुसम्म झरेको थियो । अन्तिममा भने बजार फर्किएर २७ सय माथि नै बन्द भएको छ ।
बजार बढ्दा लगानीकर्ताको आकर्षण विकास बैंक समूहको शेयरमा परेको छ । उक्त समूहको अधिकांश कम्पनीहरूको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । जसका कारण समूहगत सूचक ३.३८ प्रतिशत वृद्धि भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ३२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १२ प्रतिशत वृद्धि भएको छ ।
आज ३२३ धितोपत्रको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर ७४ हजार ३०३ पटकमा रू. ७ अर्ब ९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलोपर, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य रू. १ हजार २२१, सिन्धु विकास बैंकको रू. ८६२ दशमलव ४०, नेपाल हाइड्रो डेभलोपरको रू. ७१५, सप्तकोशी डेभलपमेन्ट बैंकको रू. ८४९ दशमलव ३० र महिला लघुवित्तको रू. २ हजार ४१० दशमलव १० पुगेको छ ।
बुधवार गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ६२१ दशमलव ७० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा युनिक नेपाल लघुवित्त छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ०६ प्रतिशत घटेर रू. २ हजार ९३७ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा ङादी ग्रुप पावरले ओगटेको छ । यस कम्पनीको रू. ३२ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१९ दशमलव ९० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा जानकी फाइनान्स छ । कम्पनीको रू. ३२ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ भने बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव २६ प्रतिशत घटेको छ ।