काठमाडौं । काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र मलेसियाका तीन विद्यालयबीच शैक्षिक आदानप्रदानलगायत विषयमा सम्झौता भएको छ ।
विद्यालयका संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा गएको विद्यालयको प्रतिनिधिमण्डल टोलीले मलेसियाका पूर्वप्राथमिक तथा प्राथमिक तहका तीन विद्यालयसँग ‘टिचर–स्टुडेन्ट एक्सचेञ्ज प्रोगाम’अन्तर्गत सम्झौता गरेको हो । उक्त सम्झौतामा शुक्रवार हस्ताक्षर भएको छ ।
भ्रमण टोलीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष यशरेखा पन्त, उच्च माध्यामिक शिक्षा प्रमुख पुष्करनाथ फुलारा र वरिष्ठ समाजसेवी प्रतिभा शर्मा छन् । सम्झौताअघि भ्रमण टोलीले ती विद्यालयको अवलोकनसमेत गरेको थियो ।
उक्त टोलीले त्यहाँका अन्य विद्यालयको पनि अध्ययन भ्रमण गर्नेछ । टोली आगामी मंगलवार नेपाल फर्कनेछ ।
मलेसियाका माथिल्लो स्तरका पूर्वप्राथमिक तथा प्राथमिक तहका तीनओटा विद्यालयको शैक्षिक गतिविधि अवलोकन गरी ती विद्यालयसित शैक्षिक आदानप्रदानलगायत सहकार्यका लागि सम्झौता गर्न टोली मलेसिया गएको एलआरआई स्कुलले जनाएको छ ।
एलआरआई स्कुलले विश्वका १८ देशका विद्यालयसँग शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ ।
यो कार्यक्रमले विद्यार्थीहरूलाई ग्लोबल सिटिजनको अवधारणामा उत्प्रेरित गर्ने विद्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक जोशीको विश्वास छ ।
यसैबीच, एलआरआईको भ्रमण टोलीले मलेशियास्थित नेपाली राजदूतावासको भ्रमण पनि गरेको थियो । सो अवसरमा नेपाली राजदूतावासका पदाधिकारीले एलआरआईले मलेशियाका विद्यालयसँग गरेको सम्झौताको प्रशंसा गरेका थिए ।