काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार खुलेको नेप्से १ दशलमव ८५ प्रतिशत घटेर बन्द भएको छ । नेप्से २ हजार ७०२ दशमलव ६५ विन्दुमा झरेको हो ।
नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । अघिल्लो कारोबार दिन रू. ११ अर्ब ७२ करोड बराबरको कारोबार भएकोमा आज रू. १० अर्ब ४८ करोडमा झरेको छ ।
मंगलवार इन्ट्राडेमा नेप्से २ हजार ७५९ दशमलव ५४ विन्दुसम्म पुगेको थियो । अघिल्ला दुई कारोबार दिन भने नेप्से बढेको थियो । बढेको बजारमा अल्पकालीन कारोबारीहरूले प्रोफिट बुक गर्ने हाबी भएसँगै बजार प्रभावित भएको जानकार बताउँछन् । पछिल्ला ६ कारोबार दिनमा भने नेप्से उच्च विन्दुमा हुँदा २ हजार ७८८ विन्दुसम्म पुगेको थियो ।
पछिल्लो समय ब्याजदर निरन्तर घट्दो छ । वित्तीय प्रणालीमा तरलता प्रशस्त मात्रामा छ । यस्तै, लाभांशको सिजन चलिरहेको छ । यस कारण पनि अहिले लगानी गरेमा जोखिम कम हुने शेयर जानकार बताउँछन् ।
यसो त लगानीकर्ताले मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेका छन् । पहिलो समीक्षामार्फत शेयर बजारलाई बाधा गर्ने केही नीति खुकुलो भएमा बजारले लय लिने विश्वास लगानीकर्ताको छ । लगानीकर्ताले शेयर धितोकर्जामा व्यक्तिगततर्फ लगाएको सीमा हटाउनुपर्ने र जोखिमभार १०० प्रतिशतमा पुर्याउन माग गरेका छन् । त्यस्तै लघुवित्तको लाभांशमा तोकिएको सीमासमेत खारेजको माग लगानीकर्ताको रहेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ६८ प्रतिशत घटेको छ ।
मंगलवार ३१० धितोपत्रको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर १ लाख ५ हजार ८२७ पटकको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ५ हजार २२६ पुगेको छ । त्यस्तै दोस्रोमा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ दशमलव २७ प्रतिशत बढेर रू. १ हजार १०६ पुगेको छ ।
मंगलवार सबैभन्दा बढी ङादी ग्रुप पावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ९३ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५२० मा झरेको छ । त्यस्तै दोस्रोमा समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य ८ दशमलव ५५ प्रतिशत घटेर रू. ८ सय कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा ङादी ग्रुप पावरले अोगटेको छ । यस कम्पनीको रू. ४६ करोड ६८ लाख बराबरको भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा समृद्धि फाइनान्स छ । कम्पनीको रू. २९ करोड ८ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ३ दशमलव १७ प्रतिशत घटेको छ । त्यस्तै जलविद्युत् समूहको ३ दशमलव ०७ प्रतिशत, वित्त समूहको २ दशमलव ३१ प्रतिशत र विकास बैंक समूहको २ दशलमव २९ प्रतिशत घटेको छ ।