काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन परिसूचक ८ दशमलव २४ अंक घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत घटेको छ । बिहीवार मूल्य बढेका १० शीर्ष धितोपत्रमध्येमा ८ ओटा ऋणपत्र छन् ।
यस आधारमा असार मसान्त नजिकिएसँगै लगानीकर्ता ऋणपत्रतर्फ आकर्षित हुन थालेका छन् । ऋणपत्र जारी गरेका बैंक तथा वित्तीय संस्थाहरूले हरेक पुस मसान्त र असार मसान्तमा ब्याज दिने गर्छन् । त्यही कारण लगानीकर्ता अहिले ऋणपत्रतर्फ आकर्षित भएको जानकार बताउँछन् ।
यस दिन ११ प्रतिशत महालक्ष्मी डिबेञ्चर २०८९, १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३, १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर, १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०८३, १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३, १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४, सेञ्चुरी डिबेञ्चर २०८८ र १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ र १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य उच्च दरमा वृद्धि भएको हो ।
३३३ धितोपत्रको ८९ लाख १ हजार १९५ कित्ता शेयर ५० हजार २८१ पटकमा रू. ३ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्य ७ दशमलव ०९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९९ दशमलव ९० पुगेको छ ।
शेयर मूल्य सबैभन्दा बढी बढ्ने कम्पनीको सूचीमा दोस्रोमा रहेको ११% महालक्ष्मी डिबेञ्चर २०८९ नामक ऋणपत्रको मूल्य ६ दशमलव ०२ प्रतिशत बढेर रू. १ हजार १४४ पुगेको छ ।
नेपाल फाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९२९ दशमलव ७० मा झरेको छ । त्यस्तै शिवश्री हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ८१ प्रतिशत घटेर रू. १७७ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. २२ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको रू. २१ करोड ४१ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३३ कायम भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ९५ प्रतिशत र वित्त समूहको सूचक २ दशमलव २३ प्रतिशत घटेको छ ।