काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २ दशमलव २६ प्रतिशत वृद्धि भएर बन्द भएको छ । यस दिन परिसूचक २ हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको हो । आज सेन्सेटिभ इन्डेक्स २ दशलमव ३४ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ४४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ४४ प्रतिशत वृद्धि भएको छ ।
मौद्रिक नीति समीक्षापछि लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिन्छ । विशेष गरी बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै आइतवार बजार बढेको जानकार बताउँछन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म विक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभाव आइतवार बजारमा परेको देखिन्छ । यसअघि सो अवधिका लगानीमध्ये प्राथमिक पूँजीको १ प्रतिशत मात्र विक्री गर्न पाउने व्यवस्था थियो । यसले गर्दा बजारमा संस्थागत लगानीकर्ता आकर्षित भएको जानकार बताउँछन् ।
आइतवार ३२३ धितोपत्रको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटकमा रू. ५ अर्ब २५ करोड बराबरको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका धितोपत्रमध्ये दुई ओटाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैको लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । यससँगै सबैको लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३४ र आत्मनिर्भर लघुवित्तको रू. २ हजार ४०६ दशमलव ८० पुगेको छ ।
आइतवार सबैभन्दा बढी माण्डु हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८६९ दशमलव ५० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रहेको पिपुल्स पावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ७८ प्रतिशत घटेर रू. ४९८ मा झरेको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १४ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८३६ दशमलव ३० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा फर्ष्ट माइक्रोफाइनान्स छ । कम्पनीको रू. ११ करोड ६८ लाख बराबरको शेयर किनबेच भएको हो ।
आज कारोबारमा आएका १३ओटै समूहगत परिसूचक बढेका छन् । तीमध्ये जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ । त्यस्तै निर्जीवन बीमा समूहको सूचक ३ दशमलव ८१ प्रतिशत वृद्धि भएको छ ।