काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ४३ प्रतिशत घटेर पुन: २ हजार विन्दुमुनि झरेको छ । परिसूचक १ हजार ९७२ दशमलव ०९ विन्दुमा झरेको हो ।
मौद्रिक नीति समीक्षाअघि २१ सय विन्दुमाथि पुगेको बजार त्यसपछि केही दिन सामान्य बढे पनि लगातारजसो घटेको छ । मौद्रिक नीति समीक्षामा माग सम्बोधन नभएको भन्दै लगानीकर्ता असन्तुष्ट देखिएपछि बजार घट्न थालेको जानकार बताउँछन् ।
बजारप्रति आम लगानीकर्ताको मनोबल निकै कमजोर देखिएको छ, सोही कारण क्रेता निष्क्रिय भएका छन् । ब्याजदर घटिरहेको छ भने बैंकिङ प्रणालीमा तरलता पनि पर्याप्त छ । यही कारण शेयर बजार दिनहुँ ओरालो लागेको जानकार बताउँछन् । बजार बढ्नका लागि लगानीकर्ताको मनोबल सकारात्मक हुनुपर्ने उनीहरूको भनाइ छ ।
यसो त पछिल्लो समय शेयर बजारमा कारोबारी बढी हावी हुने गरेका छन् । कारोबारीले थोरै मार्जिनमै खरीदविक्री गरिरहेका हुन्छन् । सोही कारण बजारले धेरै उचाई लिन नसकेको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २० प्रतिशत घटेको छ ।
बिहीवार ३०९ धितोपत्रको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर ४८ हजार ३४९ पटकमा रू. २ अर्ब ५९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २१ हजार ६०५ दशमलव १० पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत बढेर रू. ७५८ पुगेको हो ।
बिहीवार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३५० दशमलव ९० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ६३ प्रतिशत घटेर रू. ४४३ दशमलव २० कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. १० करोड १४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४४० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने कम्पनीको दोस्रोमा जोशी हाइड्रोपावर छ । कम्पनीको रू. १० करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । वित्त समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव २१ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ६२ प्रतिशत घटेको छ ।