काठमाडौं । सोमवार (आज) नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव १४ अंक बढेर २ हजार ७६० दशमलव २१ विन्दुमा पुगेको हो । गत आइतवार बजार २ दशमलव ३३ प्रतिशत वृद्धि भएको थियो ।
यसअघि केही समय 'करेक्सन' र 'साइडवेज'मा रहेको बजारले अब पुनः गति लिन खोजेको देखिएको छ । बजार बढ्न थालेसँगै लगानीकर्ता आकर्षित भएका छन् ।
बजारमा नयाँ लगानीकर्ता थपिएका छन् भने पुरानाले लगानी बढाएका छन् । जसका कारण पछिल्ला दिनमा कारोबार रकम बढिरहेको जानकार बताउँछन् ।
अघिल्लो कारोबार दिन रू. ९ अर्ब ७७ करोड बराबरको कारोबार भएकोमा आज ११ अर्ब ३१ करोडभन्दा बढीको भएको छ ।
पछिल्लो समय ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ भने सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८२ प्रतिशत वृद्धि भएको छ ।
आज ३०२ धितोपत्रको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर १ लाख १३ हजार ९६४ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सपोर्ट माइक्रो फाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको छ ।
इष्टर्न हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१४ दशमलव ५० मा झरेको छ । त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव ७१ प्रतिशत घटेर रू. ८४३ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा साहस उर्जाले ओगटेको छ । यस कम्पनीको रू. ३८ करोड १७ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५५२ दशमलव १० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ । यस कम्पनीको रू. २६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये लघुवित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव २० प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ३० प्रतिशत घटेको छ ।