काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ८८ हजार १८३ कित्ता शेयर आजदेखि विक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि पुस १७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको थियो । सो अवधिमा ३५ दिने सूचना जारी गर्दा विक्री नभएको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
इच्छुक खरीदकर्ताहरूले माघ २९ गतेसम्म यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ ३० गते बिहान १० बजे विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।