काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको स्थगित दुई आर्थिक वर्षको संयुक्त साधारण सभा पुन: बस्ने भएको छ । कम्पनीले यस अघि माघ १५ गतेका लागि तय गरेको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । माघ १५ गतेनै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २४ गते पुन: सभा गर्ने निर्णय गरेको हो ।
सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा विहान १० बजे शुरू हुनेछ । सभाका लागि यस अघिनै निर्धारित प्रस्तावहरू तय गरिएको छ । सभाले अघिल्ला दुई आर्थिक वर्षहरू ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै कम्पनीको रित्त महिला एक सहित तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । संयुक्त वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।