काठमाडौं । चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससम्म हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा करीब ३९६ प्रतिशत बढेको हो । गत वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म भने २ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रकम बढे पनि कुल सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढ्न पुगेको हो । गत वर्ष १४ करोड ८० लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष भने १८ करोड ५७ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
खुद नाफा बढे पनि कम्पनीको वितरणयोग्य नाफा भने ऋणात्मक नै रहेको छ । गत वर्षको तुलनामा कम्पनीले वितरणयोग्य नाफामा रहेको ऋणात्मक अवस्था कम गरेको छ । गत वर्ष १ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफाको ऋणात्मक अवस्था यस वर्ष घटेर २९ लाख ६० लाख रुपैयाँ कायम भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको छ । शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १२ करोड रुपैयाँभन्दा बढी छ ।
दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
कम्पनीले यस अवधिसम्म ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष दोस्रो त्रैमाससम्म ३ दशमलव ५९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ दशमलव ६२ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।