काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।
माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ छ । उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।